नेपालगञ्ज । बाँकेका किशोर किशोरी पत्रकारहरुले बाल विवाह जस्ता कुरीतिहरुको अन्त्यका लागि सबै स्थानीय तहमा परिचालिन हुने बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघ र प्लान इन्टरनेशनल नेपालले बाँकेमा सुरु गरेको स्वयमुसेवी किशोर किशोरी पत्रकारिता तालिममा ५० भन्दा बढि किशोर किशोरीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उनीहरुले गएको ६ महिनामा आफुहरुले २० भन्दा बढि बाल विवाह रोक्न सफल भएको बताएका छन् । कार्यक्रममा सामुदायिक सूचना नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले सबै पालिकाको वडा तहसम्म पुगेर स्वयम्सेवी पत्रकारहरुले महत्वपूर्ण विषयहरु बाहिर ल्याईरहेको बताउनुभयो ।
प्लान इन्टर नेशनल नेपालका सुरक्षा संयोजक आशा बुढाले बाल विवाह बिरुद्धको अभियानलाई समुदायिक पत्रकारिताले उर्जा थपेको बताउनुभयो । रेडियो सद्भावमा कार्यक्रम सञ्चालन गर्दै आउनु भएका स्वयम्सेवी पत्रकार मञ्जु घर्तिमगर र चेतना क्षेत्रिले आफुहरुलाई रेडियोले ठूलो शक्ति प्रदान गरेको बताउनु भयो ।
पत्रकार प्रीया स्मृती ढकालले समाजको तल्लो तहमा रहेका धेरै सवालहरुमा अझै पत्रकारहरु पुग्न नसकेको अवस्थामा ६५ जना स्वयम्सेवी पत्रकारहरुले ठूलो परिवर्तन गरेको बताउनुभयो । तालिममा सहभागि स्वयम्सेवी पत्रकारहरुलाई रेडियो कार्यक्रम निर्माणका लागि रेकर्डर प्रदान गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६, १९:४७