प्यूठान ।
रोकिएको दिवा खाजा कार्यक्रम पुनः सुचारु भएपछि, प्यूठानका विद्यालयहरूमा विद्यार्थी नियमित हुन थालेका छन् । प्राथमिक तहसम्म दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि पूरै समय विद्यालयमा बस्ने विद्यार्थीको सङ्ख्या पनि बढेको छ ।
महेन्द्र माध्यमिक विद्यालय खलङ्गामा बाल विकासदेखि कक्षा ५ सम्म एक सय २९ जना विद्यार्थी पढ्छन् ।
पहिलो पटक दिवा खाजा कार्यक्रम शुरु भएपछि विद्यार्थीहरू नियमति विद्यालय आउने र पूरै समय विद्यालयमा बस्ने गरेका प्रधानाध्यापक पिताम्बर पौडेलले बताउनुभयो ।
पौडेलले भन्नुभयो, ‘दिवा खाजा सञ्चालन भन्दा पहिला हाम्रो विद्यालयमा विद्यार्थीहरू अलि कमै आउने गर्थे । र, ति आएका विद्यार्थी पनि भोकको कारणले गर्दा भाग्ने गर्थे । जसले गर्दा पठनपाठनमा प्रभाव परेको थियो ।’
अहिले दिवा खाजा सञ्चालन भएपछि सबै विद्यार्थीहरू १० देखि ४ बजेसम्म कक्षा कोठामै हुने गरेका भन्दै पौडेलले दिवा खाजाले पठनपाठनमा सकारात्मक प्रभाव पारेको बताउनुभयो ।
अहिले देशैभर स्थानीय तहले विद्यालय सञ्चालन भएको दिन दिवा खाजाको व्यवस्था मिलाएको छ । प्रति विद्यार्थी दैनिक १५ रुपैयाँका दरले विद्यार्थीलाई खाजा रकम तोकिएको छ ।
विद्यार्थीको खाजा र दैनिक उपस्थितिको आधारमा अभिभावकलाई एकमुष्ठ रकम दिने गरिन्छ । विद्यालय उपस्थित नभएमा उनीहरुले रकम पाउँदैनन् । अभिभावकले घरमै खाजा बनाएर छोराछोरीलाई पठाउँछन् ।
विद्यालयमा हरेक दिन खाजा ल्याउने तालिका पनि छ । कक्षा ५ का विद्यार्थी रक्षा पुन मगरले भन्नुभयो, ‘आइतबार अण्डा, सोमबार चना च्यूरा, मंगलबार तरकारी रोटी, बुधबार भात भुटेको, बिहीबार हलुवा तरकारी, शुक्रबार फलफूल र आलु परौठा लैजान्छौं ।’
नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, पातिहाल्नामा पनि दिवा खाजाले विद्यार्थीको सङ्ख्या बढाएको छ । विद्यार्थीलाई प्रत्येक दिन फरक–फरक खाजा, अण्डा–चना, मकै, केराउ, फलफूल, रोटी लगायतका खानेकुरा बनाएर दिईन्छ ।
खाजा बनाउनको लागि अभिभावकहरू पालैपालो विद्यालय जाने गरेका छन् । एकजना अविभावक विमला विकले भन्नुभयो, ‘हामीले यो नास्ता पकाउनको लागि पालो सिस्टम गराएका छौं । जतिवटा बच्चा छन् त्यति दिन जानुपर्छ, दाउरा लिएर । पालो पालो जान्छौं ।’
बालाबालिकाले खाने खाजाको अनुगमन, विद्यालय व्यवस्थापन समितिबाट नियमित रुपमा हुन्छ । पछिल्लो समय विद्यार्थीले जङ्क फुड अर्थात् पत्रु खाना खान छोडेका ने.रा.प्रावि पातिहाल्नाका प्रधानाध्यापक दिपकलाल श्रेष्ठको भनाइ छ ।
श्रेष्ठले भन्नुभयो, ‘पहिला त अधिकांशले बाहिरको खानेकुरा नै खान्थे । अहिले विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भइसकेपछि पहिलाको तुलनामा जंक फुडमा अत्यन्तै कमी आएको छ । ’
दिवा खाजा कार्यक्रमको बजेट सिधै स्थानीय तहमा जाने गरेको छ । परीक्षा बिदा कटाएर विद्यार्थी नियमित भए वर्षभरी १ सय ८० दिनको, बालबालिकाले २ हजार ७ सय रुपैँया पाउँछन् ।
दिवा खाजा कार्यक्रम शुरु गरेसँगै प्युठानका ४४ हजार बालबालिका प्रत्यक्ष लाभान्वित भएका छन् । दिवा खाजा कार्यक्रमले विद्यार्थी नियमित भएपछि शैक्षिक गुणस्तर बढ्नेमा शिक्षक र अविभावक आशावादी छन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६, १२:११