काठमाडौँ । आगामी बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरिने भएको छ । सत्तारुढ नेकपाको आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो मिर्गौलाको प्रत्यारोपणको तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले आजको सचिवालयको बैठकमा आफ्नो उपचारको बारेमा जानकारी गराएको बताउनुभयो । त्यसपछि नेकपा सचिवालय बैठकले ओलीको सफल मिर्गौला प्रत्यारोपणको शुभकामना दिएको पनि श्रेष्ठले जानकारी दिनुभयो ।
त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्जमा हुने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली भोलि नै अस्पताल भर्ना हुने तयारी गरिएको छ ।
प्रधानमन्त्री ओलीको २०६३ मा भारतको अपोलो अस्पतालमा पहिलो पठक मिर्गौला प्रत्यारोपण गरिएको थियो । नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र उहाँसामु विकल्प थियो । चिकित्सकहरुसँग परामर्शपछि ओलीले पुनः प्रत्यारोपणको विकल्प रोजेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि उहाँको नातिनीसँको मिर्गौला मेल खाएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज स्रोतका अनुसार नातिनीको मिर्गौलासँग मेल खाएपछि त्यसैअनुसारको तयारी गरिएको हो ।
नातिनीको नाम गोप्य राखिएको छ । प्रधानमन्त्री ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनाले मिर्गौला दिनुभएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६, १४:४७