सिन्धुली । सिन्धुलीको पश्चिमी भेगको हरिहरपुरगढी गाउँपालिकाले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई गाउँमै राख्न पशुपालनको लागि अनुदान दिनेभएको छ ।
गाउँपालिकाले यसै आर्थिक बर्षमा किसानलाई अनुदानमा गाई, बाख्रा र बंगुर वितरण गर्न लागेको हो ।
गाउँपालिकाले गाई, बाख्रा र बंगुर वितरण गर्नका लागि करिब एक करोड बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष कार्साङ लामाले बताउनुभयो ।
बेरोजगारी समस्या समाधान गर्न र युवालाई गाउँमै राख्न यस्तो कार्यक्रम ल्याइएको उहाँको भनाइ छ ।
गाउँपालिकाको वडा नं.१,४, ५ मा उन्नत जातको बाख्रा, वडा नं. २ र ३ मा बंगुर, र वडा नं. ६, ७ र ८ मा उन्नत जातको गाई अनुदानमा वितरण गर्ने कार्यक्रमका लागि बजेट बिनियोजन गरिएको अध्यक्ष लामाले बताउनुभयो ।
गाउँपालिकाको १, ४ र ५ वडा बाख्रा पालनको लागि उपयुक्त रहेको र बाख्राका लागि आवश्यक पर्ने घाँस पनि पर्याप्त पाईने भएकाले उक्त वडाहरुमा बाख्रा पालनका लागि किसानलाई अनुदान दिन लागिएको उहाँले बताउनुभयो ।
वडा नं. ६, ७ र ८ मा गाईपालनका लागि प्रसस्त घाँस रहेकाले यस आर्थिक बर्षमा एक सय वटा उन्नत जातको गाई किसानलाई वितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा दूध उत्पादन बढाउनका लागि र परम्परागत पशुपालनलाई त्याग्दै व्यवसायीक र उन्नत जातको गाई पाल्न किसानलाई प्रेरित गरिने गाउँपालिकाको भनाइ छ ।
गाउँपालिका अध्यक्ष लामाका अनुसार बाख्रा, गाई र बंगुर वितरणका लागि पालिकाले कार्यविधि बनाएर पास गरिसकेको छ ।
किसानको ४० प्रतिशत लगानी र पालिकाको ६० प्रतिशत अनुदान रहने गरी वितरण गर्ने गाउँपालिकाको योजना छ ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६, १४:२६