काठमाडौँ । चीनको वुहानबाट उद्दार गरेर नेपाल ल्याइएका १ सय ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टि भएको छ ।
१४ दिनसम्म उनीहरुलाई भक्तपुरको खरिपाटीमा राखेर २ पटक नमूना परीक्षण गरिएको थियो । खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएका उनीहरुको दोस्रो नमूना परीक्षणको नतिजा आज आएको हो ।
सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताउनुभयो । चीनको वुहानमा कोरोना सङ्क्रमण फैलिएपछि सरकारले त्यहाँ रहेका १ सय ७५ जनालाई यही फागुन ४ मा उद्दार गरेको थियो ।
नेपाल ल्याउनवित्तिकै गरिएको नमूना परीक्षणको नतिजा पनि नेगेटिभ आएको थियो । अब क्वारेन्टाइनमा बसेका सबैजना आआफ्नो घर जाने मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६, १५:२३