बाँके । बाँके जिल्लामा दिनदिनै बालविवाह बढ्दै गएकाले प्रदेश सरकार, स्थानीय तह र सबै सङघसंस्था मिलेर बालविवाह रोक्ने साझा अभियान गर्न प्रतिबद्ध भएका छन् ।
प्लान इन्टरनेशनल र स्याकको सहकार्यमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले नेपालगञ्जमा गरेको प्रदेशस्तरीय छलफलमा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सबै तहका सरकार र साझेदार संस्थालाई सामुदायिक रेडियो प्रसारक सङ्घले एकै ठाउमा ल्याएर प्रतिबद्धता जनाउन लगाएकोमा खुसी व्यक्त गर्नु भयो ।
बाँकेका सबै पालिकामा किशोरकिशोरी स्वयंसेवी पत्रकारहरू पुर्याएर बालविवाहविरुद्धको अभियान गरेकोमा मन्त्री बरालले खुसी व्यक्त गर्दै यो अभियानमा सरकारको सधैँ साथ रहने बताउनुभयो ।
प्रदेश सांसद कृष्णा केसीले अन्य जिल्लाभन्दा बाँकेमा पछिल्लो समय बालविवाह बढी भइरहेकाले विशेष अभियानको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा स्वयंसेवी किशोरकिशोरी पत्रकारहरूले बालविवाह रोक्न र त्यसको अन्त्यका लागि चेतना फैलाउन सफल भएको र आफूसँग सूचनाको राम्रो स्रोतको विकास भएको अनुभव सुनाए ।
आफूहरूले २० भन्दा बढी बालविवाह रोक्न सफल भएको उनीहरूको भनाइ थियो । कार्यक्रममा नरैनापुर गाँउपालिकाका प्रमुख ईस्तियाक अहमद साहले नरैनापूर गाँउपालिकामा अझैँ पनि दिनदिनै बालविवाह भइरहेकाले गाँउमै पुगेर निरन्तर कार्यक्रम गर्न सामुदायिक रेडियो पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापाले बालविवाह देख्नेवित्तिकै उजुरी गर्न आग्रह गर्नुभयो । कार्यक्रममा महन्त चन्द्रनाथ योगी, मौलाना अब्दुल जबार मञ्जरीलगायतका धर्मगुरूहरूले आफूले कुनै पनि बालविवाहलाई गर्न नदिने भनेर कागज गरेको जानकारी दिनुभयो ।
सामुदायिक रेडियो प्रसारक सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोहरूले गएको तीन वर्षदेखि बालविवाहविरुद्धको अभियान गरिरहेको जानकारी दिँदै यो प्रभावकारी भएको टिप्पणी गर्नुभयो ।
प्लान इन्टरनेशनल नेपालमा बाल सुरक्षा कार्यक्रमको संयोजन गरिरहनुभएका कमला राईले प्लानले जोखिममा रहेका पालिकाका तल्लो तहसम्म चेतना फैलाउने कार्यक्रम गरिरहेको बताउनुभयो । स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले वडा तहसम्मका जनप्रतिनिधिको सहयोग र साथ पाउन नसक्दा अभियान प्रभावकारी हुन नसकेको धारणा राख्नुभयो ।
सामुदायिक सूचना नेटवर्क (सीआईएन) का प्रमुख दीपक आचार्यले गएको ८ महिनामा सबै पालिकाको वडा तहसम्म पुगेर स्वयंसेवी पत्रकारहरूले सङ्कलन गरेका रेडियो सामग्रीले सोँच र व्यवहारमा परिवर्तन ल्याउन सहयोग पुर्याएको बताउनुभयो ।
खजुरा गाउँपालिककाका उपप्रमुख एकमाया बिकले स्वयंसेवी पत्रकारहरूले व्यावसायिक पत्रकारहरूले ल्याउन नसकेको सूचना बाहिर ल्याउने काम गरेको बताउनुभयो ।
बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीले किशोरकिशोरीहरूले प्रहरीलाई हुँदै गरेको बालविवाहको बारेमा जानकारी दिएकै कारण आफूहरूले बालविवाह रोक्न सफल भएको जानकारी दिनुभयो ।
सामुदायिक रेडियो प्रसारक सङ्घका महासचिव गोविन्द देवकोटाले प्लान र स्याकले बाँकेका सबै वडा तहका किशोरकिशोरीलाई स्वयंसेवी पत्रकार बनाउन सहयोग गरेर तल्लो तहसम्म सामुदायिक रेडियोलाई पुग्नलाई सहयोग गरेको उल्लेख गर्दै यो परियोजना सकिए पनि स्थानीय सामुदायिक रेडियोले निरन्तरता दिनसक्ने धारणा राख्नुभयो ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६, १६:०६