काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको छ । आज साँझ सवा ६ मा अस्पताल पुग्नुभएको हो ।
प्रधानमन्त्री ओलीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि विसं ०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउनुभएको थियो । उहाँलाई पहिलोपटक भाइ बुहारी अञ्जना घिमिरेले मिर्गौला दिनुभएको थियो भने दोस्रोपटक ३२ वर्षीय भाञ्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिन लाग्नुभएको छ । मिर्गौला दिन समीक्षा दिउँसो सवार ३ बजे बजे त्रिवि शिक्षण अस्पताल पुग्नुभएको थियो ।
मिर्गौला प्रत्यारोपण गरेको १२ वर्षपछि पुनस् समस्या देखिएसँगै प्रधानमन्त्री ओलीले गत कार्त्तिकयता नियमित डाइलासिस गराउँदै आउनुभएको थियो । उहाँको पर्सि बुधबार ६ जना चिकित्सको टोलीले मिर्गौला प्रत्यारोपण गर्नेछ ।
टोलीमा डा. दिव्या सिंह, डा. दिलिप शर्मा, डा. प्रेम राज ज्ञवाली, डा. उत्तम शर्मा, डा. पवन चालिसे र भारतीय डा. अनन्त कुमार रहेका छन् । अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम कृष्ण खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्न पाउनु गौरवको कुरा भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीलाई अस्पतालमको मुख्य भवनको 'एनेक्स टु'को बेड नम्बर ६०१ मा भर्ना गरिएको छ ।
भिडियो
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६, १८:५३