दाङ । दाङमा लागुऔषध न्यूनीकरणका लागि विद्यालयस्तरबाट चलाइएको अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ । अभियान अन्तर्गत विद्यालय वरपर मदिराजन्य पदार्थ विक्रीवितरण नगर्न व्यवसायीहरूलाई सचेत गराएको छ ।
दाङको घोराहीका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी लागुऔषधको प्रयोगलाई निरुत्साहित गर्न अभियानमार्फत सक्रिय भएका हुन् ।
घोराही नगरपालिका १४ मा रहेका सामुदायिक विद्यालय र संस्थागत विद्यालय वरपर लागुऔषध र सूर्तिजन्य वस्तुको विक्रिवितरण रोक्न विद्यार्थीहरू सक्रिय भएका शुभप्रभात माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी बासना घर्ती मगरले बताउनुभयो ।
विद्यार्थीहरूले १८ वर्ष मुनिका बालबालिकालाई लागु औषध तथा सूर्तिजन्य वस्तु विक्रिवितरण नगर्न व्यवासायीहरूलाई आग्रह गर्ने गरेका छन् ।
मदिरा कार्यान्वयन ऐन २०३१, लागु औषध नियन्त्रण ऐन २०३३ र सूर्तिजन्यपदार्थ नियन्त्रण र नियमनगर्ने ऐन २०६८ कार्यान्वयका विषयमा पनि शिक्षक र विद्यार्थीले जानकारी गराउने गरेका छन् । गोरखा माध्यमिक विद्यालयमा अध्ययनरत स्नेहा सुनार आफूहरूले सचेत गराउँदै हिँडेपछि व्यवसायीहरूले आगामी दिनमा ध्यान दिने बताएको सुनाउनुभयो ।
‘लागुऔँषध दुव्र्यसन बिरुद्धको अभियान, कानुन कार्यन्वयन र सहि पहिचान’ भन्ने नाराका साथ जनचेतना अभियान चलाइएको हो । विद्यालय वरपर मदिराजन्यपदार्थ विक्रिवितरण हुने गरेका कारण विद्यार्थीमा नकारात्मक प्रभाव नपरोस् भन्नका लागि अभियान चलाइएको बालमन्दिर प्राविका शिक्षक विष्णु भण्डारीले बताउनुभयो ।
घोराही नगरपालिका वडा नम्बर १४ मा सामुदायिक विद्यालय ४ वटा छन् भने बोर्डिङ स्कूलको सङ्ख्या ६ रहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दाङमा चालु आर्थिक वर्षको ५ महिनामा लागु औषध मुद्दामा २५ जना व्यक्ति पक्राउ परेका छन् ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६, १२:१६