हाम्रो आकाश तथा धर्तीमा करोडौं किटाणु छन् । त्यसमध्ये नोभेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको विकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन । यसैबीच कोरोना भाइरससँग लड्ने क्षमता कसरी बढाउने भन्ने विषयमा जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले दिएको केही महत्वपूर्ण जानकारीहरूलाई यहाँ प्रस्तुत गरिएको छ ।
१– पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौँ । हरियो सागसब्जी, फलफूल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति विविधता भयो, हामी त्यति स्वस्थ हुन्छौँ । भिटामिन सि, बी, ई, जिनलगायत पोषण पाउने खाना सेवन गरौँ ।
२– नियमित व्यायाम, योग, हाइकिङ् गरौँ । खेल खेल्ने बानी बसालौँ ।
३– घाममा बसौँ ।
४– नियमित अनुलोम विलोम गरौँ । यसले फोक्सोको कार्य क्षमता वृद्धि गर्दछ ।
५– चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौँ ।
६– बिहान बेलुका नियमित १–१ चम्चा घ्यु खाने गरौँ ।
७– लसुन, प्याज, टिमुर, जिरा, धनियाँ, अदुवा, बेसार, तिल, मरौटी, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।
८– भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।
९– पर्याप्त मात्रामा सुतौं ।
१०– पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफूल नियमित खाएर शरीरलाई नियमित सिंचाइ गरौँ ।
११– मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।
१२– दिल खोलेर हाँस्ने गरौँ ।
१३– नियमित चिया र कफी र दुधचिनी नहालेको सेवन गरौँ ।
१४– ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ ।
१५– सरसफाइमा अल्छी नगरौँ ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६, १३:४१