काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण गरिंदैछ ।
ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरिरहनुभएका प्रा.डा. प्रेम ज्ञवालीका अनुसार आज बिहान ९ बजेदेखि प्रत्यारोपणको प्रक्रिया शुरु हुनेछ ।
मिर्गौला प्रत्यारोपणको तयारीका लागि उहाँको प्रि ट्रान्सप्लान्ट डायलाइसिस र अन्य स्वास्थ्य परीक्षणको काम हिजै सकिएको छ । मिर्गौला प्रत्यारोपका लागि आवश्यक औषधि दिन हिजै सुरु गरिएको हो ।
प्रधानमन्त्री ओलीको चाहना अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुँदैछ ।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि डा. ज्ञवालीको नेतृत्वमा ६ जना सर्जन, २ जना एनेस्थेसिस्ट, ८ जना नर्सिङ स्टाफसहित करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटिएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य संवेदनशिलतालाई ख्याल गर्दै भारतबाट दुईजना चिकित्सक समेत बोलाइएको डा. ज्ञवालीले बताउनुभयो ।
प्रधानमन्त्रीले आफू ढुक्क रहेको र नआत्तिन डाक्टरहरूलाई समेत भन्नुभएको अस्पताल स्रोतले जनाएको छ । प्रधानमन्त्रीलाई भेट्न पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिजो साँझ अस्पताल पुग्नुभएको थियो ।
प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै विद्यार्थीहरू अस्पताल परिसरमा प्ले कार्ड लिएर बसेका छन् ।
फेसबुक, टुइटर लगायतका सामाजिक सञ्जालबाट पार्टीका नेता कार्यकर्ता, अन्य नेताहरू तथा सर्वसाधरणले समेत प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका छन् ।
पूर्व राजा ज्ञानेन्द्र शाहले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६, ०८:४९