काठमाडौं ।
संसद बैठक आज पनि बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले “कारागार विधेयक, २०७६ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने छ ।
संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यतालिका अनुसार आजको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले “पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री वसन्त कुमार नेम्वाङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले “शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
उहाँले “राष्ट्रिय खेलकुद विकास विधेयक, २०७६ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।
सम्भावित कार्यतालिका अनुसार आजको बैठकमा गृह मन्त्री रामबहादुर थापाले “अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको पालेर्माे अभिसन्धि (Palermo Protocol) माथि सामान्य छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६, ०९:१५