काठमाडौं ।
राष्ट्रियसभामा प्रतिनिधित्व गरेका १९ जना सदस्यहरूको पदावधि हिजो सकिएपछि आज नयाँ सदस्यहरू आउँदैछन् ।
पहिलो पटक दुई वर्षे कार्यकाल सकेर बिदा हुनेमा नेकपाका ९ जना सांसद छन् भने कांग्रेसका ७ जना, राजपा नेपालका २ र समाजवादी पार्टीका १ जना छन् ।
उनीहरूको हिजो राष्ट्रियसभाले बिदाइ गरेको छ । आजदेखि त्यही ठाउँमा नेकपाका १६ र राजपाका २ गरि १८ जना सांसद राष्ट्रियसभामा आउने छन् ।
कार्यकाल पूरा गरेर फर्कनेहरूले राष्ट्रियसभामा पक्ष विपक्षको विभाजन कम भएको, कानून बनाउनमा एक मत देखिएको भन्दै सम्मन्वयकारी भूमिका खेलेकोमा सभाअध्यक्ष गणेश तिमल्सिनालाई धन्यवाद दिएका छन् ।
अध्यक्ष तिमल्सिनाले पनि २ बर्षे अवधिमा संसद सञ्चालनमा खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै आगामी दिनको सफलताको कामना गर्नुभएको थियो ।
राष्ट्रियसभाको बैठक आज सवा १२ बजे बस्दैछ । त्यसअघि आज बिहान ११ बजे सपथ ग्रहण गरेपछि नयाँ सदस्यहरू बैठकमा उपस्थित हुनेछन् ।
यससँगै अब राष्ट्रियसभामा काँग्रेसका ६ जना सांसदमात्रै रहने छन् । निर्वाचनबाट ७ जना गुमाएको र दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि काँग्रेस अब राष्ट्रियसभामा ६ जनामा सिमित हुन पुगेको हो ।
नेकपाले राष्ट्रियसभामा दुई तिहाइ मतसहित ५० जना सांसदले प्रतिनिधित्व गर्नेछ । त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपालका दुई तथा समाजवादी पार्टीका एकजना सांसद अब राष्ट्रियसभामा रहनेछन् ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६, ०९:३८