काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल ईरान तथा आसपासको क्षेत्र नजिक रहेको पश्चिमी न्यून चापीय प्रणाली बिहिबार (भोली) बाट नेपाल प्रवेश गर्नेछ ।
सो प्रणालीका कारण भोली देशको पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित असिना पानी पर्नुका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका स्थानहरूमा हल्का हिमपात को सम्भावना रहेको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै यस्तो जानकारी गराएको हो ।
महाशाखाका अनुसार शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुनेछ ।
शनिबार देशैभरी सामान्यदेखि पूर्ण बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने देखिन्छ । साथै देशका केही स्थानहरूमा हावाहुरी र असिना सहित वर्षाको संभावना समेत रहेको छ ।
आइतबारबाट क्रमिक रुपमा मौसममा सुधार हुने महाशाखाले जनाएको छ । यस प्रणालीको प्रभाव रहने समयसम्म आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले अनुरोध गरेका छन् ।
आज दिउँसो भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा सामान्यतया मौस सफा रहने महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
अपरान्ह पछि पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६, ०९:५६