झापा ।
आज फागुन २१ गते अर्थात् सुखानी हत्याकाण्ड भएको दिन ।
झापाबाट इलाम जेल सार्ने बहानामा ४७ वर्षअघि फागुन २१ गते तत्कालिन राजतन्त्रले झापा र इलामको सिमानामा पर्ने सुखानीमा पु्¥याएर झापाका ५ जना युवाको हत्या गरेको थियो ।
यही घटनाको सम्झानामा हरेक वर्ष फागुन २१ मा सुखानी शहीद स्मृति दिवस मनाउने गरिएको छ । तर शहीद परिवारलाई यतिले मात्रै पुगेको छैन । उनीहरूले राज्यले शहीद परिवारलाई भुल्दै गएको गुनासो गरेका छन् ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका साथीहरूकै हत्या भएको दिन सम्झेर नेकपाले विभिन्न कार्यक्रम गरेर पाँचै शहिदहरूको सम्झना गर्ने गरेको छ । तर ती मारिएका शहीदका परिवार जीवन चलाउने उपाय नभएर समस्यामा छन् ।
झापा ज्यामिरगढीका शहीद वीरेन राजवंशीका छोरा नेत्र राजवंशी राज्यले आर्थिक सहायता भन्दा पनि रोजगारीको व्यवस्था गरिदिनुपर्ने बताउनुहुन्छ ।
शिक्षा, स्वास्थ्य लगायतका विषयमा पनि शहीद परिवारलाई राज्यले हेर्नुपर्ने उहाँको भनाइ छ ।
नेत्रले भन्नुभयो, ‘अहिले सरकार बहुमतको छ । अहिले केही हुन्छ कि भनेर आशा गरेका छौं, ग्यारेन्टी त के भन्नु । आर्थिक सहयोग भन्दा पनि हामी शहीद परिवारलाई रोजगारी, शिक्षा, स्वास्थ्यको ग्यारेन्टी हुनुप¥यो ।’
पञ्चायतकालमा भएको हत्याकाण्डमा कम्युनिष्ट आन्दोलनका अगुवाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठ मारिनुभएको थियो ।
सुखानीका शहीद र शहीदका परिवारलाई राज्यले बिर्सेको सुखानीका शहीद रामनाथ दाहालका श्रीमति विषेश्वरा दाहालको आरोप छ ।
दाहालले भन्नुभयो, ‘त्यो बेलादेखि राजनीतिमा लागेका परिवार अहिले बाहिर छन् । धेरै परिवार बाहिर छन्, एका एकलाई राखेर शहीद परिवार राखेको छ भन्ने नाटक छ । सरकारले खोला तरेर लौरो बिर्सन भएन ।’
२०२९ साल कात्तिकमा प्रहरीले पक्राउ गरेर झापा जेलमा राखेको थियो भने तत्कालीन कम्युनिस्टहरूले जमिनदारलाई सफाइ गर्ने अभियान चलाएका थिए । झापाबाट इलाम जेल सार्ने बहानामा सुखानीको जङ्गलमा राति पाँचै जनालाई गोली हानिएको थियो ।
शहीदको सपना पूरा गर्नका लागि सरकारबाट गरेको अपेक्षा बारे बताउँदै शहिद बिरेन राजवंशीका बुहारी बिमला राजवंशीले भन्नुभयो, ‘ २०५० सालमै छोराहरूलाई पढाउनुभयो । पढाएर अलिकति राहतचाहिँ दिनुभयो । २०५२ सालबाट मैले केही सुविधा पाइनँ ।’
बिमलाले अगाडी भन्नुभयो, ‘दुईजना छोराछोरी अहिले १२/१२ मा पढेर बसेका छन् । एउटा सानोतिनो केही गरेर अल्झाइदिन पाए आफ्नो पनि मन शान्त हुन्थ्यो । छोराछोरी आफ्नो खुट्टामा उभिएर खान पाउँथें । त्यतिचाहिँ आश लागेको छ, तर खै अहिलेसम्म गर्नुभएको छैन । अहिलेसम्म पनि आशै छ । आशा देखाइराख्नुभएको छ । आश्वासन दिनुभएको छ ।’
सुखानी हत्याकाण्ड र झापा विद्रोहका जगमा नेकपा (माले) नेकपा एमाले, नेकपा माओवादी हुँदै एकीकृत भएको नेकपा आज दुई तिहाई बहुमत प्राप्त राजनीतिक शक्ति बनेको छ ।
सुखानी पुगेर शीर्ष नेताहरूले शहीदको प्रतिमामा माल्र्यापण गर्ने गरेका छन् । तर तिनै शहीद परिवारको जीवन सहज बनाउनेतर्फ भने सरकारले ध्यान पु¥याउन सकेको छैन ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६, ११:०६