काठमाडौं ।
कोभिड १९ अर्थात् कोरोनाभाइरसको संक्रमण विश्वभर फैलिएसँगै नेपाली बजारमा ‘सर्जिलक मास्क’ को अभाव देखिएको छ । गम्भीर प्रकारका संक्रमणबाट जोगिन प्रयोग हुने कतिपय विशेष प्रकारका मास्क समेत बजारमा उपलब्ध हुन छाडेको छ ।
बुधबार मध्यान्हको समय, चर्को घाममा एमबीएमा अध्ययनरत काठमाडौं सामाखुसीका अस्मिता पौडेल त्रिपुरेश्वर नजिकै सडक छेउमा स्कुटर रोकेर औषधी पसलमा छिर्नुभयो ।
गर्मीले असिन पसिन देखिनुभएका पौडेलले अरु ठाउँमा जस्तै यहाँ पनि मास्क पाउनुभएन । पौडेलले भन्नुभयो, ‘यताउता गरेर २÷३ वटा पसल चहारें । तर, मास्क पाउन असफल भएँ । खोज्दैछु तर भेटिएको छैन ।’
बाजुराका सुशिला रोकाय किर्तिपुर बस्नुहुन्छ । कामको शिलशिलामा अनामनगर पुग्दा उहाँले बाटोमा देखेका सबै औषधी पसलमा मास्क छ ? भनेर सोध्नुभयो । तर कसैले छ भनेनन् ।
अनामनगर पुगेपछि मात्रै सुसिलाले ५ थान मास्कको जोहो गर्न सक्नुभयो ।
रोकायाले भन्नुभयो, ‘यहाँ आएको, यहाँचाहिँ अलिकति थोरै रहेछ । त्यही ५ वटाजति दिनुभयो । तपाई एकैजनालाई दिएर हुँदैन, अरुलाई पनि दिनुपर्छ भन्नुभयो । त्यही ५ वटा मात्रै दिनुभयो ।’
काठमाडौं उपत्यकाका सबैजसो औषधि पसलमा मास्क अभाव छ । अधिकांशमा ‘हामीसँग मास्क छैन’ भनेर टाँसिएको पाइन्छ ।
थापाथलीको प्रसुति गृह नजिकै रहेको रश्मी होमियो फार्मेसीमा दैनिक दुईसय भन्दा बढि मानिस मास्क खोज्दै आईपुग्छन् । तर सञ्चालक रञ्जु डिसी एक सातादेखि मास्क अभाव रहेको बताउनुहुन्छ ।
डिसीले भन्नुभयो, ‘हामीले ल्याउने ठाउँमा खोजेको, त्यहाँ पनि छैन भन्छन् । कतिपय ठाउँमाचाहिँ महङ्गोमा छ, महङ्गोमा ल्याएर बेच्न पनि गाह्रो ।’
एक महिना अघिसम्म प्रतिगोटा पाँच रूपैयाँ पर्नेलाई २० देखि २५ रूपैयाँ र १० रूपैयाँ पर्नेलाई ४०–५० रूपैयाँसम्म असुलेका खुद्रा व्यापारी यतिबेला थोकमै खरिद गर्न नपाएको अनुभव सुनाउँछन् ।
नेपाल औषधि व्यवसायी संघका महासचिव ललित मोहन पन्तले भन्नुभयो, ‘मास्कको ५० वटा पिस हुन्छ एउटा बट्टामा । एउटा मास्कको केही नभएपनि ३०/३२ रुपैयाँ फार्मेसीलाई पर्छ । अब त्यो फार्मेसीले ३०/३२ रुपैयाँ परेको मास्कलाई कतिमा बेच्ने ? उसले रिस्क लिन चाहँदैन । बरु नकिनौं, नराखौं भन्नेतिर जान्छन् । त्यस्तो समस्या भएको हो, अहिले ।’
देशभरिका अस्पताल, शल्यक्रिया, विभिन्न चिकित्सा प्रयोजन र अन्य प्रयोगका लागि मासिक १० लाख वटासम्म सर्जिकल मास्क खपत हुने गरेको छ ।
नेपाली बजारमा मास्क अभाव भइरहेका बेला सरकारले कसरी व्यवस्थापन गर्दैछ ? उद्योग, वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक नेत्र सुवेदी कृतिम अभाव सृजना गर्नेलाई कारबाही गरिएको र आवश्यक मात्रामा मास्क उपादन गर्ने विषयमा सरकारले तयारी थालेको बताउनुहुन्छ ।
सर्जिकल, पेपर र एन–९५ मास्क वार्षिक ६ करोड थानको हाराहारीमा नेपालमा आयात हुँदा पछिल्लो डेढ महिनामा मात्र ४३ लाख १७ हजार थान मास्क नेपालबाट निर्यात भएको छ ।
निर्यात भएको मास्क छिमेकी मुलुक चिन लगिएको व्यापारीहरूले बताएका छन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६, ०९:२४