काठमाडौं ।
संसद बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव र संकल्प प्रस्ताव प्रस्तुत हुँदै छ ।
आजको बैठकमा सांसद गगन कुमार थापाले “विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सुचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरू सरकारले सदनलाई जानकारी दिनुपर्ने भएको तथा कोरोना विरुद्ध सबै जुटी राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नु पर्ने भएकोले” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
सांसद सञ्जय कुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्र कुमार के.सी. र डाक्टर नारायण खड्काले उक्त प्रस्तावको समर्थन गर्नुहुने छ ।
आजको बैठकमा सांसद खगराज अधिकारीले “भारत सरकारले नेपालको दार्चुला जिल्लाको कटियाङदी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरिसकेपछि सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकोले कुटनीतिक र अन्य पहलकदमी गरी नेपालको भुभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकोले” भन्ने विषयको संकल्प प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
सांसद रामकुमारी झांक्रीले प्रस्तावको समर्थन गर्नुहुनेछ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले “औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी संसदमा प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीले “संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम रहेकामा प्रधानमन्त्रीको तर्फबाट कानून मन्त्रीले यो प्रस्ताव प्रस्तुत गर्न सक्ने संसद सचिवालयले जनाएको छ ।
अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले “सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भन्ने प्रस्ताव र “बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
यस्तै, उहाँले “नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यतालिकामा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६, ०९:१०