बारा ।
मकैमा अनौठो समस्या देखिएपछी चिन्तित बनेका बाराका किसानलाई विज्ञहरूले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् । बुधबार प्रभावित क्षेत्रको अनुगमन गरेपछि विज्ञले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।
मकैबाली अनुसन्धान केन्द्र रामपुर, चितवनका मकै वैज्ञानिक महेन्द्र त्रिपाठीसहित बिउबिजन गुणस्तर केन्द्र काठमाडौंका प्रमुख मदन थापा, कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादव, बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र काठमाडांैका बरिष्ठ बाली विज्ञ अधिकृत रमेश हुमागाईँ, बाली विज्ञ अधिकृत रविन धिताल, बिउबिज्ञान व्यवसायी संघ नेपालका उपाध्यक्ष छोटेलालप्रसाद लगायतको टोलीले मकैबालीको अनुगमन गरेको हो ।
जिल्लाका अधिकांश किसानले लगाएको श्रेष्ठा एन.एम.एच.७३१ जातको मकैको धानचमरामा दाना लाग्ने अनौठो समस्या देखिएपछी अनुगमनका लागि आएको टोलीले किसानहरुसँग अन्तरकृया समेत गरेको छ ।
ढिलो समयसम्म घोगामा दाना नदेखिएपछी लगानी डुब्ने चिन्तामा रहेका किसानलाई ठूलो क्षती बेहोर्नु नपर्ने विज्ञको कुराले सान्त्वना मिलेको छ । अपेक्षा गरेजति उत्पादन नभएपनि सतप्रतिशत क्षति हुने अवस्था नदेखिएको मकैबाली अनुसन्धान केन्द्र रामपुर, चितवनका मकै वैज्ञानिक त्रिपाठीले बताउनुभयो ।
‘मकैको धानचमरामा दाना लाग्ने अस्वभाविक समस्या देखिएको छ, जसका कारण घोगामा दाना पुष्ट हुन लाग्ने शक्ति त्यसैमा केन्द्रित हुनेहुँदा केहि उत्पादन घट्ने आँकलन गरेका छौँ ।’ त्रिपाठीले भन्नुभयो, ‘तथापी अहिलेकै अवस्थामा सतप्रतिशत क्षति हुने देखिँदैन ।’
उहाँका अनुसार यसवर्ष श्रेष्ठा जातको मकै लगाएका किसानले १५ देखी १८ प्रतिशतसम्म क्षति बेहोर्नुपर्नेछ ।
समस्या आउनुको कारण के ?
किसानले लगाएको श्रेष्ठा एन.एम.एच. ७३१ जातको मकैमा मात्रै हाल यस किसिमको समस्या देखिएको छ । श्रेष्ठा भारतको हैदराबादमा उत्पादित भएपनि नेपालका लागि पञ्जीकरण भएको जात हो । तर मौसमको प्रतिकुलताका कारण वृक्षमा अनौठो समस्या देखिएको विज्ञहरूले बताएका छन् ।
‘सिङ्गल क्रस हाईब्रिड’ प्रकृतिका मकै आफैंमा जोखिमपूर्ण जात भएको भन्दै मकै वैज्ञानिक त्रिपाठीले वृद्धि विकासको समयमा मौसमी प्रतिकृलताका कारण समस्या आएको हुनसक्ने बताउनुभयो ।
‘किसानले कार्तिक १५ गते पछाडी लगाएको अधिकांश बालीमा समस्या देखिएको पाईयो ।’ उहाँले भन्नुभयो, ‘मकैको शारीरिक वृद्धि अवस्थामा लामो समयसम्म भएको शितलहरका कारण असर परेको हुनक्छ ।’
यस्तो प्रकृतिका जातले कहिले अत्याधिक उत्पादन दिने र कहिले ठूलो नोक्सानी भईदिने भन्दै मकैको बंशाणुगत समस्या पनि हुनसक्ने उहाँले औँल्याउनुभयो ।
राष्ट्रिय जातहरूको प्रयोग बढाउन सुझाव
उत्पादन बढाउने अपेक्षामा नेपालको हावापानी र माटो सुहाउँदो बिउ प्रयोग हुन छाडेकोप्रति त्रिपाठीले चिन्ता व्यक्त गर्नुभयो ।
बाहिरी मुलुकमा उत्पादित जातहरू भित्रिने क्रमसँगै बालिमा रोग र समस्यासमेत भित्रिन थालेको भन्दै उहाँले आफ्नै देशमा विकसित जातको प्रयोग बढाउन कृषकहरूलाई सुझाव समेत दिनुभएको छ ।
सरकारले समेत बिउबिजनमा आत्मनिर्भर बन्ने र बिदेशी जातहरूलाई निरुत्साहन गर्ने नीति लिएको भन्दै उहाँले भन्नुभयो, ‘नेपालमा उत्पादित जातहरूको उत्पादन केहि कम भएपनि रोगब्यादीबाट मुक्त हुने र समस्या आईपरेको खण्डमा पहिचान र निराकरण गर्न सहज हुने भएकाले किसानले राष्ट्रिय जातलाई प्राथमिकता दिन जरुरी छ ।’
पछिल्लो समय बाहिरबाट आयात हुने बिउको दर्ता प्रकृयालाई समेत सरकारले घटाउँदै लगेको उहाँले सुनाउनुभयो ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६, ०९:३०