सिन्धुली ।
अन्तराष्ट्रिय महिला दिवसका अवसरमा विभिन्न कार्यक्रम भईरहँदा सिन्धुलीको एउटा स्थानीय तहले गिट्टी कुटेर जीवन गुजारा चलाईरहेका महिलालाई सम्मान गरेको छ ।
कमलामाई नगरपालिका ६ का ४२ वर्षका सीता रम्तेल एकाबिहानै ग्वाङ्खोला किनारमा पुग्नुभयो । र सधैं जस्तो रम्तेलको दैनिकी गिट्टी कुट्दै सुरु भयो ।
एकाएक खोला किनारमा सुकिला मानिसहरूको एउटा समूह देखियो । रम्तेलको छेउमा आएर त्यो समूहले दोसल्ला ओढायो र ‘आज काम गर्नु पर्दैन’ भन्दै एक दिनको ज्याला बराबर पैसा दिएर गयो ।
खुशी हुँदै रम्तेलले भन्नुभयो, रमाइलो लाग्यो । बेला बेलामा यसरी आइदिए हुन्थ्यो । हाम्रो घरबास बनाइदिन पनि पहल गरिदिए राम्रो हुन्थ्यो ।’
दिनभरी गिट्टी कुटे मात्रै बेलुका चुल्हो बल्छ । नगरप्रमूख खड्ग बहादुर खत्री सहितको समूह आएर आज काम गर्नु पर्दैन भन्दै पैसा दिंदा रङ्गमाया भुजेलको मुहार पनि हँसिलो देखियो ।
अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नगरपालिकाले ग्वाङ्खोला र लब्दाह खोलाको किनारमा बसेर गिट्टी कुट्दै गुजरा चलाउने ६५ जना महिला श्रमिकलाई एक हजार नगद दिएर दोसल्ला ओढाउँदै सम्मान ग¥यो ।
नगरप्रमुख खड्ग बहादुर खत्री मजदुरका पक्षमा गर्न सकिने कामका लागि नगर सधैं तयार रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘श्रमजीवि, सर्वहाराको कसरी उत्थान गर्न सकिन्छ भन्ने अभियानमा कमलामाई नगरपालिका लागेको छ ।’
नगरपालिकाबाट सम्मानित हुन पाएका श्रमिक महिला नारी दिवसका दिन फुर्सदिला भए । काम नगरी पैसा पनि पाए । अरु दिन काम पनि पाइयोस्, पैसा पनि पाइयोस् र जीवनशैली फेरियोस् भन्ने उनीहरूको चाहना छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६, ११:२७