काठमाडौं । अन्तरदेशीय संगठित अपराधविरुद्धको महासन्धिअन्तर्गतको पालेर्मो अभिसन्धिमाथि संसदबाट पारित भएको छ । गृहमन्त्री रामबहादुर थापाले संसदमा बिहीबार पेश गर्नु भएको अभिसन्धि ध्वनीमतका आधारमा सर्वसम्मतिले स्वीकृत भएको छ । सांसदले उठाएका जिज्ञासाको जवाफ दिदैं गृहमन्त्री थापाले अभिसन्धिको आवश्यकता पहिल्यै भएकामा ढिलो गरी आएको भए पनि अनुमोदन गर्न अनुरोध गर्नुभयो ।
अभिसन्धि पारित भएपछि महिला, बालबालिकालगायत मानवको बेचबिखनमा संलग्न हुनेलाई सजाय भएन भने अन्तर्राष्ट्रिय न्यायालयमा पनि जान सकिने व्यवस्थासमेत गरिएको छ ।
बेचबिखन र ओसारपसारमा संलग्न हुनेलाई दण्ड सजायको व्यवस्था अभिसन्धिमा गरिएको छ । महिला तथा बालबालिका बेचबिखन र ओसारपसारका कसुरविरुद्ध कारबाहीको आधार सहज हुनेछ ।
पूरक आलेखलाई संघीय संसद्ले अनुमोदन गरेपछि लागू गर्न बाटो खुलेको छ । अन्तर्राष्ट्रिय रूपमै बेचबिखन रोक्न र सजाय गर्न इटालीको पालेर्मोमा सन् २००० डिसेम्बरमा हस्ताक्षर खुला गरिएको उक्त आलेखलाई एक सय ७३ देशले अनुमोदन गरिसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६, १३:००