काठमाडौँ । सरकारले विदेशबाट नेपाल आउने व्यक्तिले १४ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले गरेको निर्णय विदेशी पर्यटकदेखि नेपाली नागरिकसम्मलाई समान रुपमा लागु हुनेछ ।
भोलिदेखि स्वदेश फर्कने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरूले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय उच्चस्तरीय समितिको बैठकले गरेको हो ।
अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई दिने गरेको नो अब्जेक्सन लेटर पनि हाललाई रोक्ने निर्णय पनि गरिएको छ । नो अब्जेक्सन सर्टिफिकेट ३० अप्रिल अर्थात वैशाख १२ गतेभन्दा अगाडि दिइने छैन ।
विश्व स्वास्थ्य स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि सतर्कता अपनाउन सरकारले बिभिन्न १९ निर्णय गरेको हो ।
सरकारले नेपाल आगमन विन्दुमा विदेशीहरूलाई दिइँदै आएको अन अराइभल भिसाको व्यवस्था १४ मार्च २०२० को राति १२ बजेबाट लागु हुने गरी ३० अप्रिल २०२० सम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ भने यसपूर्व भिसा लिइसकेका विदेशीहरूले नेपालको आगमन विन्दुमा आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र आगमन विन्दुको अध्यागमन कार्यालयमा पेश गर्ने व्यवस्था लागु गर्ने निर्णय पनि गरेको छ ।
अति जरूरी कारणबाट नेपालमा यात्रा गर्नु पर्ने व्यवस्थाका विदेशीले सम्बन्धित मुलुक वा नजिक रहेका नेपाली नियोगहरूबाट नेपाल आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्रसहित भिसा आवेदन गर्नुपर्ने व्यवस्था लागु गर्ने निर्णय पनि भएको छ ।
भोलिदेखि नेपाल प्रवेश गर्ने विदेशीहरूले सेल्फ क्वारेन्टाइन अर्थात आफैँ सचेत भएर बस्ने र नेपाली नागरिक तथा गैरआवासीय नेपालीले होम क्वारेन्टाइन अर्थात घरमै १४ दिनसम्म बस्नुपर्ने व्यवस्था लागु गर्ने निर्णय गरिएको छ ।
यस्तै कूटनीतिक र अफिसियल भिसा प्राप्त विदेशीहरू पहिलो पटक नेपाल प्रवेश गर्दा वा बाहिर यात्रा गरी नेपाल फर्किदाको अवस्थामा १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था लागु गर्ने निर्णय पनि भएको छ । निर्णय अनुसार व्यावसायिक अध्ययन र कामदार भिसा प्राप्त गरेका विदेशीहरू विदेश यात्राबाट नेपाल फर्केपछि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था लागु हुने छ ।
विदेशमा रहेका नेपाली नागरिकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता र सावधानी अपनाउन अनुरोध गर्ने निर्णय भएको छ भने तेस्रो मुलुकका नागरिकहरूलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न दिइँदै आएको सुविधा भोलि राति १२ बजेदेखि लागु हुने गरी ३० अप्रिल २०२० सम्मका लागि स्थगन गर्ने निर्णय पनि भएको छ ।
नेपाल भारतबीचको यात्रु आवागमनलाई व्यवस्थित गर्न परराष्ट्र मन्त्रालयले अर्थ, उद्योग, वाणिज्य तथा गृह मन्त्रालयसँगको सहकार्यमा भारतीय पक्षसँग समन्वय गरी निश्चित विन्दुहरूबाट मात्र यात्रु आवागमन गर्ने व्यवस्था मिलाउने निर्णय पनि भएको छ भने अर्को सूचना नभएसम्म वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने निर्णय पनि भएको छ ।
संक्रमणको रोकथाम र नियन्त्रणका लागि अति आवश्यक पर्ने औषधि, औजार तथा उपकरणलगायतका सामग्रीहरू सार्वजनिक खरिद ऐनको विशेष परिस्थितिको प्रावधानअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद गर्ने निर्णय भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोकथाम, निदान र उपचारका लागि आवश्यक पर्ने आइसियू तथा आइसोलेसन कक्षसहितको विशेष पूर्वाधार काठमाडौं उपत्यकामा आवश्यक संख्यामा र हरेक प्रदेशमा कम्तीमा १÷ १ वटा विकास गर्न विस्तृत प्रस्ताव तयार पारी समितिको अर्को बैठकमा पेस गर्ने र त्यसका लागि आवश्यक पर्ने स्रोतको व्यवस्था अर्थ मन्त्रालयले गर्ने निर्णय भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी समायोजन भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई संक्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यकता अनुसार परिचालन गर्ने छ ।
संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा आवश्यकता अनुसार परिचालन गर्न मेडिकल तथा ननमेडिकलहरूको सूची तयार गरी व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी आवश्यक व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि भएको छ ।
नेपालमा पर्वतारोहण गर्ने गरी सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएका वा जारी गरिने अनुमति पत्र हाललाई स्थगित गर्ने र नेपालमा आयोजना हुने अन्तराष्ट्रिय सभा सम्मेलन समारोहहरूलाई मे ३१ २०२० सम्मका लागि स्थगित गर्ने निर्णय भएको छ ।
संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एंव मेला महोत्सव सहभागी नहुन आम जनसमुदायलाई आह्वान गर्ने निर्णय सरकारको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६, १७:४८