काठमाडौं । सार्क राष्ट्रले कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउने भएका छन्। त्यसका लागि सार्क राष्ट्रका नेताहरूले ‘भिडियो कन्फरेन्स’ अर्थात् भिडियो सम्वाद गर्ने भएका छन्।
यि राष्ट्रहरूले भिडियो सम्वाद मार्फत सहकार्य अघि बढाउने भएका हुन् । पाँच वर्षदेखि सार्क अवरुद्ध छ। भिडियो सम्वाद आज साँझ ५ बजे हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली पनि सम्वादमा सहभागी हुनु हुनेछ ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिकित्सकको सल्लाहमा प्रधानमन्त्री ओली सिंहदरबार पुगेर भिडियो कन्फरेन्समा सहभागी हुन लाग्नुभएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य लाभ गरेर शुक्रबार डिस्चार्ज हुनु भएको थियो । २०७१ सालमा १८ औं शिखर सम्मेलनपछि शिखर सम्मेलन हुन सकेको छैन।
आज हुने भिडियो कन्फरेन्सलाई सार्क ब्युँताउने रणनीतिका रूपमा लिइएको छ।
प्रकाशित मिति: आइतबार, चैत २, २०७६, ०८:०८