काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि १५ देशका नागरिकलाई नेपाल आउन प्रतिबन्ध लगाएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका देशहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती मुलुकलाई ट्रान्जिट बनाएर अन्य जुनसुकै मुलुकबाट आउने यात्रीलाई शुक्रबारदेखि नेपाल आगमनमा रोक लगाएको हो ।
यो बन्देज ३ वैशाख ०७७ सम्म लागू हुनेछ । यी मुलुकमा रहेका नेपाली पनि सो अवधिसम्म स्वदेश फर्कन पाउने छैनन् । बैठकपछि अर्थ तथा सञ्चारमन्त्री डाक्टर युवराज खतिवडाले सबै संवेदनशीलतालाई ध्यान दिएर सरकार अघि बढेको जानकारी दिनुभयो ।
चीन, भारत, थाइल्यान्ड, बंगलादेश, सिंगापुर र भुटानबाट आउने तथा नेपालबाट यी मुलुक जाने एयरलाइन्सलाई रोक लगाइएको छैन । चीन र भारतबाट उपभोग्य वस्तु पनि आयात गर्नुपर्ने हुनाले आवागमन ठप्प गर्न अव्यावहारिक हुने सरकारी तर्क छ ।
भेला हुन रोक
सरकारले अत्याआवश्यक काम बाहेक घर बाहिर ननिस्कन र भिडभाड नगर्न पनि सरकारले सबैलाइ आग्रह गरेको छ । त्यस्तै सरकारले विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेलामा रोक लगाउने पनि सरकारले निर्णय गरेको छ । सिनेमा हल, साँस्कृतिक केन्द्र, रंगशाला, जिम, हेल्थ क्लब, स्विमिङ पुल, डान्सबार तथा क्लबलाई पनि वैशाख १८ सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६, ०६:४८