काठमाडाैं । नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायसँग संवाद सुरु गरेको छ । आवश्यक अनुभव आदानप्रदान र मेडिकल सहयोगको माग गर्दै चीनलाई औपचारिक पत्राचार गरेको छ ।
चीन सरकारले आवश्यक मेडिकलदेखि प्राविधिक जनशक्तिसहितको सहयोग दिने प्रस्ताव नेपाल सरकारलाई गरेको थियो ।
नेपालले सहयोग लिने सूचीको विषयमा भने दुई मुलुकका स्वास्थ्य अधिकारीबीच आज हुने भिडियो कन्फरेन्समा छलफल हुनेछ । त्यसक्रममा अनुभव आदानप्रदान र सहयोगको विषयमा कुरा हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ ।
चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोभिड–१९ संक्रमणलाई चिनियाँ सरकारले लगभग नियन्त्रण गरेको जनाएको छ । अमेरिकी सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाललाई थप करिब २१ करोड रुपैयाँ सहयोग गरेको छ ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार कोरोना प्रकोपविरुद्धको तयारी तथा प्रतिकार्यलाई सशक्त बनाउन उक्त रकम सहयोग गरिएको हो ।
चीनसँग यी सामान माग्दै
-पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पन्जालगायत) – २०,००० थान
-एन ९५ मास्क – २०,००० थान
-पोर्टेबल भेन्टिलेटर – १०० थान
-मोनिटर – २,००० थान
-एबिजी मेसिन – २० थान
-भाइरल डिटेक्टिङ पिसिआर मेसिन – २० थान
-अक्सिजन प्लान्ट – ५ थान
-रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसन – १०,००० थान
-इन्ट्युवेटिङ सेट – २,००० थान
-इन्फेक्सस डिजिज मोबाइल एम्बुलेन्स – ७ थान
-सिआरआरटी मेसिन – २० थान
-पिसिआर किट्स – २,००० थान
-थर्मल थर्मोमिटर – १,००० थान
-थर्मो स्क्यानर – १० थान
-मेडिकल सुविधासहितको मोबाइल एम्बुलेन्स – ५ थान
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६, ०८:४९