कोरोना संक्रमणको समाचारले गर्दा धेरै व्यक्तिहरु आत्तिएका छन् । समाजमा धेरै भ्रम तथा हल्ला उम्रिएका छन् । अहिले यस्तो स्थिति छ, मानौं कोरोना लाग्ने बित्तिकै मृत्यु भइहाल्छ । यसको मृत्युदर ०.७ देखि ३.५ % मात्र छ भन्ने वास्तविकता हामीले बिर्सिनु हुँदैन । यस आलेखमा कोरोना संक्रमणको यथार्थता प्रस्तुत गरेको छु ।
- विश्वका १७७ देशमा कोरोना संक्रमण पुगेको छ । यो समस्या हाम्रो मात्र हैन, संसारको समस्या हो । हामी नेपाली निकै भाग्यमानी हौँ । अहिलेसम्म हामीले यो समस्यासंग पीडाजनक युद्ध गर्नुपरेको छैन ।
- सुरुमै कोरोना संक्रमण नेपालमा आएको भए हाम्रो अकल्पनीय क्षति हुने थियो । यो ढिलाइको कारण हामीले प्रशस्त अनुभव गर्न पायौं, संसारको पीडा बुझ्न पायौं, रोकथामका नयाँ नयाँ उपाय अबलम्बन गर्न पायौं, यसको घातक प्रभाव थाहा पायौं, मास्क, स्यानिटाइजर तथा खाधान्नको अभाव नेपालमा मात्र हैन बिकसित देशमा पनि हुँदोरहेछ भन्ने तथ्य थाहा पायौं । अर्थात मानसिक र भौतिक तयारी गर्ने समय पायौं ।
- सरकारले स्टेप बाइ स्टेप कदम चल्न पायो । लक डाउनको लागि मानसिक रुपमा सरकार र जनता तयार भयौं । सरकारको शक्ति र कमजोरी थाहा पायौं । थाहा पाउनु भनेको समाधानको बाटोमा हिंड्नु पनि हो ।
- कोरोना संक्रमण त्यति घातक रोग हैन । यो छिट्टै फैलिन्छ तर रुघाखोकी जस्तै कम खतरनाक छ । उदाहरणको लागि आजको दिनसम्म विश्वमा १२६१२० जना अर्थात् 95 % मा सामान्य लक्षण देखिएका छन् ,जुन आराम, झोलिजो खाना तथा लाक्षणिक उपचारले ठिक हुन्छन भने ६९४२ जना अर्थात ५ % मा मात्र गम्भीर लक्षण देखिएका छन् । ती ५ % मा पनि एकदम थोरैको मृत्यु हुन्छ । त्यो मृत्यु ‘ मृत्युको डिलमा पुगेका ‘ व्यक्तिको मात्र हुन्छ ।
- यो रोग बिकसित देशमा धेरै फैलिएकोले लाखौँ अनुसन्धान, औषधि तथा खोपमा प्रगति एबम आपसी हातेमालो सार्थक भइरहेको छ । औषधि तथा खोपको प्रयोग धनी देशबाट सुरु भएको छ।
- धेरैलाई भ्रम छ कि ब्लडप्रेसर र सुगर भएका व्यक्तिलाई कोरोना संक्रमणको खतरा छ भन्ने । त्यो अल्प सुचना मात्र हो । जन्मजात मधुमेह भएका, मधुमेहको अन्तिम स्टेजमा पुगेर किड्नी लगायतका अंग खराब भएका तथा ब्लडप्रेसर हुँदै मुटुको असाध्य रोग लागेका व्यक्तिलाई जोखिम छ भनेको हो । सामान्य ब्लडप्रेसर र मधुमेह भएका एबम औषधिले प्रेसर र सुगर नियन्त्रण भएका व्यक्तिलाई जोखिम छैन ।
- बालबालिकालाई जोखिम भनिएपनि अहिलेसाम विश्वको डाटा हेर्ने हो भने नगन्य रुपमा यसको घातकता देखिएको छ । सय बर्ष काटेका धेरै बुढाबुढी यो रोगबाट सजिलै निको भएका छन् । तसर्थ जोखिम बर्ग जनरलाइज गर्नु हुँदैन । त्यसलाई भयो भने मलाइ पनि हुन्छ भन्ने छैन । हरेक व्यक्ति फरक फरक हो ।यो मौलिकता हामीले बुझ्नुपर्छ ।
- मास्क, स्यानिटाइजर लगायतका सामान हुँदा राम्रो हो तर नहुँदा पनि असुरक्षित महशुष गर्नुपर्दैन । कोभिड १९ बाट बच्ने अचुक उपाय भनेको घरमै बस्ने, हात धोइरहने तथा आफुलाई शारीरिक एबम मानसिक रुपमा बलियो बनाउने नै हो ।
- महामारी तथा प्राकृतिक बिपत्तिमा हल्ला, भ्रम, नकारात्मक समाचार, अपुष्ट कुरा तथा अनधिकृत बिषयले धेरैलाई पीडा दिएको हुन्छ । रोग लाग्नु भन्दा पहिले विक्षिप्त हुनु भनेको आफुले आफ्नो लागि खाल्डो खनेर खस्नु जस्तै हो ।
-हाम्रो देशमा कोरोना संक्रमण ब्यापक भयो भने ती व्यक्ति सजिलै बाँच्नेछन् जो मानसिक रुपमा बलिया हुन्छन | शरीर गाडी हो भने मन त्यसको ड्राइभर हो । ड्राइभर विक्षिप्त भयो भने जस्तो सुकै बलियो गाडी भए पनि दुर्घटनामा पर्छ । हामी सबैले मन बलियो बनाऔं ।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६, १२:२५