कैलाली । कैलाली टीकापुर ८ बन्दिपुरका रेखा चौधरीले दैनिक एक सय दर्जन केरा बेच्दा १ हजारदेखि १५ सय रुपैयाँसम्म नफा प्राप्त हुन्छ । स्थानीयस्तरमा फलेका केरा बेच्दा नाफा मात्रै होइन, गौरबको महसुस हुने गरेको अर्का फलफूल व्यवसायी सरिता बुढाथोकीको बुझाइ छ ।
उहाँ भन्नुहुन्छ,‘प्रायजसो म काँचो केरा ल्याएर पकाएर आफैँ बेच्छु । गोदामबाट पाकेको केरा ल्याएपछि पाँच रुपैयाँ आउँछ भने आफै पकाएर बेच्दा दस रुपैयाँ नाफा आउँछ ।’
कैलाली जिल्लाका किसानले लगाउने प्रमुख फलफूल खेतीमा केरा पर्छ । केरा खेतीमा लाग्ने किसानले मासिक लाखौँ रुपैयाँ कमाउन सफल भएका छन् भने सरकारका करोडौँका योजना पनि यहाँ सञ्चालनमा छन् ।
चालु आर्थिक वर्षमा केरा खेतीमा कैलाली जिल्लालाई आत्मनिर्भर बनाउने योजना अघि सारिएको छ ।
कैलालीमा पनि खासगरी टीकापुर क्षेत्रको बजारमा चोक तथा गल्लीमा देखिने केरा यही वरपरका किसानले फलाएका हुन् । तर ३१ वर्षअघि यीनै गल्लीमा निशुल्क, २ रुपैयाँ दर्जनमा केरा बेच्नुपरेको थियो ।
टीकापुरमा व्यावसायिक केरा खेतीको जग बसाल्ने कालु हमाल ती दिन सम्झदै भन्नुहुन्छ, ‘पहिलो जब केरा खेतीको सुरुवात यहाँ गरियो । त्यसबेलामा हरिछाल केरा मात्र मानिसहरूको रोजाइमा पर्ने गरेको थियो । केरा खाने बानीको विकास गर्नका लागि हामीले निशुल्क पनि हरिछाल केरा बाँडेका थियौँ । दुई रुपैयाँ, सात रुपैयाँ दर्जन केरा पनि बेचेको अनुभव मसँग छ ।’
सात रुपैयाँ दर्जन केराचाहिँ धेरै समयसम्म केरा बेचेको हमालको भनाइ छ । २०३९ सालमा रामपुर विश्वविद्यालयबाट कृषिमा स्नातक गरेपछि हमाल स्थायी जागिरभन्दा पनि केरा खेती गर्ने योजनाका साथ टीकापुर फर्कनुभयो ।
३६ वर्षभन्दा धेरै समय केरा खेतीमा बिताउँदा १० बोटबाट सुरु भएको केरा व्यवसाय अहिले १०औँ विगाहमा पुगेको छ । ४२ प्रकारका केराका परिकार बनाउनेदेखि करिब ५० लाख रुपैयाँ बराबरको वार्षिक आम्दानी हमालको छ ।
टीकापुरमा हमाले एक कट्ठा जग्गामा रेष्टुरेन्ट चलाएर व्यवसाय सुरु गर्नुभएको थियो । एक ठाउँमा मात्र हाल १६ जनाले काम गर्छन् भने वर्षमा २४ लाख रुपैयाँ आम्दानी हुने गरेको हमालले बताउनुभयो । चारवटा मध्ये दुईवटा रेष्टुरेन्ट जनशक्ति अभावमा सुरु गर्न नसकेको पनि उहाँले सुनाउनुभयो ।
विनोद साह सप्तरीबाट विज्ञान र गणित विषय पढाउनका लागि ५५ सालमा टीकापुर आउनुभयो । तर त्यसको ३ वर्षमा जागिर छोडेर डेढ कट्टाबाट सुरु गरेको केरा खेती अहिले विस्तार भएर करिब ८० बिगाह क्षेत्रफलमा पुगेको छ । ५ करोड लगानी भएको छ । आम्दानीभन्दा पनि अरुलाई रोजगार दिन पाएकोमा उहाँलाई सन्तोष लाग्छ ।
‘८० विगाह क्षेत्रफलमा लगाइएको केराखेतीमा केही नभए पनि ५ करोड लगानी गरेको छु । घडेरी किनेँ, करिब डेढ करोड लगाएर घर बनाएँ । बच्चाहरूलाई पनि पढाउन सकेँ ।’ साहले थप्नुभयो, ‘सबभन्दा महत्वपूर्ण कुरा चिनारी र रोजगार दिन सकेँ त्यसैमा मलाई सन्तोष लागेको छ । ९०/१०० जनाले दैनिक रोजगारी पाएका छन् ।’
कालु हमाल र विनोद साह मात्रै होइन, टीकापुर नगरपालिकाभित्र मात्रै करिब ३ सय किसान व्यावसायिक केरा खेतीमा लागेका छन् । सरकारी निकाय पनि यहाँका नागरिकसँग केराखेतीमा साझेदारी गरिरहेका छन् ।
राष्ट्रिय गौरबको रानी जमरा कुलरिया सिँचाइ आयोजना केरा खेतीका लागि थप सहयोगी बनेको छ ।
आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन इकाई प्रमुख भरत कँडेल केरा खेतीको राष्ट्रिय औषत उत्पादकत्व १५ मेट्रिक टन प्रतिहेक्टर छ भने हाम्रो आयोजना क्षेत्रमा ३५ हेक्टर टन प्रतिहेक्टर रहेको बताउनुहुन्छ । ‘यो यहाँका किसान र उद्यमीका लागि ठूलो खुसीको विषय हो ।’ इकाई प्रमुख कँडेलले भन्नुभयो ।
कृषि ज्ञान केन्द्र कञ्नपुरका अनुुसार कैलाली जिल्लाभरिमा करिब १ हजार हेक्टर क्षेत्रफलमा केरा खेती भइरहेको छ भने टीकापुर केराको पकेट क्षेत्र बन्दैछ ।
केरा व्यवसायी सङ्घका अनुसार कैलालीमा मात्रै वर्षमा १५ करोडभन्दा धेरैको केराको कारोबार हुन्छ ।
प्रदेश सरकारले केरा खेतीमा लागेका किसानका लागि नमूना केरा गाउँ र अनुदान कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कैलालीमा करिब डेढ करोडका योजना बनाएको बताउँदै कृषि ज्ञान केन्द्र कञ्नपुरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले भन्नुभयो, ‘कैलाली र कञ्चनपुरमा ३ करोडको कार्यक्रमले क्षेत्र विस्तार र प्रविधिमा टेवा पुग्नेबित्तिकै उत्पादन र उत्पादकत्वमा फरक पर्ने अपेक्षा गरिएको छ ।’
नेपालमा ५० र कैलालीमा मात्रै अझैँ ५ प्रतिशतजति केरा भारतबाट आउने गरेको छ । केरा खेतीको हब बनिरहेको टीकापुरलाई पछयाउन सके केराबाटै समृद्धिलाई पनि पछयाउन सकिने व्यवसायीहरुको विश्वास छ ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: शनिबार, चैत ८, २०७६, १४:५३