काठमाडौं । लामो दुरीका सवारी साधन आजबाट बन्द भएका छन् ।
कोभिड १९ संक्रमण नेपाल भित्रिन नदिने उद्देश्यले सरकारले आजबाट लामो दुरीका सवारी साधन अनिश्चितकालका लागि बन्द गरेको हो ।
यातायात व्यवस्था विभागका अनुसार ४ घण्टाभन्दा लामो दुरी वा दुईसय ५० किलोमिटर भन्दा लामो रुटलाई लामो दुरीको यात्रा भनिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै १० चैतदेखि केही समयका लागि लामो दुरीका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरिएको यसअघि नै जानकारी गराउनुभएको थियो ।
सरकारले काठमाडौं, ललितपुर र भक्तपुर बाहेक अन्य जिल्लामा आजबाट एक जिल्लाका मानिस अर्को जिल्लामा आवत जावत गर्न समेत रोक लगाएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै अन्तराष्ट्रिय उडान बन्द गर्नुका साथै चीन र भारतसँग जोडिएका नेपालका नाकाहरू पनि एक साताका लागि बन्द गरेको छ ।
हिजो साँझ बसेको मन्त्रीपरिषद्को बैठकले सिमा नाका बन्द गर्ने निर्णय गरेको हो भने उडान बन्द गर्ने निर्णय यसअघि नै भइसकेको थियो ।
तर सीमा नाकाबाट अत्यावश्यक सामाग्रीको ढुवानी भने जारी रहने सरकारले भनेको छ ।
अनावश्यक रुमा भिडभाड नगर्न, सचेत रहन, सरसफाइमा विशेष ध्यान दिन र सचेतताका लागि सरकारले गरेका निर्णयहरूलाई सघाउन पनि सरकारले सर्वसाधरणलाई अनुरोध गरेको छ ।
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६, ०९:२२