काठमाडौँ । सरकारको आदेशमा सुरु भएको लकडाउन अर्थात अत्यावश्यक बाहेक कुनै पनि जमघट, गतिविधिमा रोक लगाउने निर्णयको सम्मान गर्न विज्ञहरूले आग्रह गरेका छन् ।
सरकारले जारी गरेको आदेश आफ्नै लागि भएका कारण गम्भीरताका साथ लिन उनीहरूले भनेका हुन् । भीडभाड नगर्नु्स् भन्दा पनि नागरिकहरूले भेटघाटमा समय बिताउन थालेको भन्दै उनीहरूले यस्तो आग्रह गरेका हुन् ।
सीआईएनसँग कुराकानी गर्दै जनस्वास्थ्यविज्ञ डा समिरमणि दीक्षितले काठमाडौँबाट मानिसहरू हतारहतार गरेर गाउँ फर्केको भन्दै गाउँ नै सुरक्षित छ भनेर ढुक्क नहुन र सावधानी अपनाउन आग्रह गर्नुभयो ।
‘सार्वजनिक यातायात चढेर जाँदा कुनै एक व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण भएको अवस्थामा पनि बसभित्र रहेका सबैलाई सर्न सक्ने र कुनै एक व्यक्तिका कारण सिङ्गो परिवार, गाउँ नै जोखिममा हुनसक्छ ।’ जनस्वास्थ्यविज्ञ दीक्षितले भन्नुभयो,‘सङक्रमण नभए पनि गाउँ गएका वा विदेशबाट आएका व्यक्तिले आफूलाई कम्तिमा दुई हप्ता अरु कसैको सम्पर्कमा नराख्नु नै बुद्धिमानी हुन्छ ।’
अत्यधिक ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुनेलगायतका कुनै पनि लक्षण देखिएमा स्वास्थ्यकर्मीसँग परामर्श लिन पनि उहाँले अनुरोध गर्नुभयो ।
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६, ०९:५७