सिमरा/बारा ।
सरकारले एक साताका लागि देश ‘लकडाउन’ घोषणा गरेको दोस्रो दिन बाराका बजार क्षेत्रहरू आज बिहानैदेखी साँझसम्म सुनसान देखिएका छन् । हिजो मंगलबारको तुलनामा आज बुधबार नागरिक थप सचेत भएको पाइएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनुभयो ।
पहिलो दिन अन्यौलका कारण पनि कतिपय मानिस सडकमा निस्केका भन्दै उहाँले दोस्रो दिन केहि सचेत भएको पाइएको बताउनुभयो ।
बजार क्षेत्रका बासिन्दा सचेत बनेपनि ग्रामिण भेगमा भने ‘लकडाउन’ कार्यान्वयन निकै चूनौतिपूर्ण बनेको छ । लकडाउन नबुझ्दा विशेषत: ग्रामिण क्षेत्रका स्थानीय चोक चौताराहरूमा घुमफिर गर्ने गरेका प्रहरी नायव उपरिक्षक मिश्रले बताउनुभयो । उनीहरूलाई पनि प्रहरीले सम्झाएर घर भित्रै रहन आग्रह गरेको छ ।
प्रहरीका अनुसार राजमार्ग क्षेत्र भने आज बिहानैदेखि सुनसान छ । मंगलबार छिटफुट मात्रामा मालबाहक सवारीसाधन गुडेको भएपनि आज त्यसमा कमी आएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
बिहान ११ बजेसम्म प्रहरीले सरकारी निर्णय उल्लंघन गरी चलाइएका ८७ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
कोरोना संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको घोषणालाई अवज्ञा गर्दै अनावश्यक रुपमा चलाइएका उक्त मोटरसाईकलको साँचो र ब्ल्युबुक नियन्त्रणमा लिएर राखिएको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।
त्यसैगरी सरकारी निर्देशन अवज्ञा गर्ने तीन जनालाई पनि प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । अटेरी गरी मिठाईँ पसल सञ्चालन गररिहेका दुई जना र बाहिर ननिस्कन आग्रह गर्दा बिवादमा उत्रने एक जनालाई नियन्त्रणमा लिईएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६, १७:३७