सिमरा/बारा ।
कोरोना भाइरस अर्थात् कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनको तेस्रो दिन बाराका ग्रमिण क्षेत्रहरूमा समेत प्रभाव परेको छ ।
बजार क्षेत्रहरू मंगलबारदेखि नै सुनसान देखिएपनि ग्रामिण भेगमा भने नागरिक लकडाउन अवज्ञा गर्दै चोक चौतारमा घुमिरहेका देखिन्थे । तर आज लकडाउनको प्रभाव ग्रामिण भेगमा समेत देखिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभयो ।
प्रशासनले निरन्तर सूचना जारी गर्दै नागरिकलाई घरभित्रै रहन आग्रह गरिरहेको र शुरक्षाकर्मीहरूले समेत जनचेतना बाँडिरहेकाले तेस्रो दिन आज लकडाउन पालना भइरहेको गैरेले बताउनुभयो ।
यसैबिच, जिल्लाका मुख्य बजार र राजमार्गबाट गाउँ पस्ने नाकाहरू स्थानीयले नै अवरुद्ध गरेका छन् । गाउँमा बाहिरी मानिसको प्रवेशमा रोक लगाउन सडकमा ड्रम, काठ, ढुंगा ईत्यादी राखिएका छन् ।
त्यसैगरी गाउँमा पछिल्लो समय बैदेशिक रोजगारीबाट फर्केकाहरूको पहिचान गरी अस्पतालसम्म पु¥याउन समेत नागरिक आफैंले सहयोग गरिरहेका जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष तिलक श्रेष्ठले बताउनुभयो ।
चैत चार गते कतारबाट आएका दुई जना क्वारेन्टाइनमा
गत चैत चार गते कतार एयरवेजको विमानमार्फत् नेपाल आएका बाराका दुई जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुरका २९ बर्षिय युवक र रौतहट घर भइ हाल कलैया–७ बरेवा बस्दै आएका ३३ बर्षिय अर्का एकजनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सोही विमानमा नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण देखिएपछि उनीहरूको खोजी शुरु गरिएको थियो ।
कलैया अस्पतालमा आवश्यक चेकजाँच पछि अस्पतालकै क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६, १२:५५