बिष्णु गौडेल, रेडियो मध्यविन्दु, नवलपुर ।
नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिकामा दुई दिनको अवधिमा एक सय १६ वेडको क्वारेन्टाइन तयार पारिएको छ ।
गत सोमवार मध्यविन्दु नगरपालिकाको आकस्मिक बैठकले १५ वटै वडामा क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरे अनुसार नगरभित्र एक सय १६ वेडको क्वारेन्टाइन तयार पारिसकिएको मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
स्थानीय विभन्न संघ संस्था, सामुदायिक वन, विद्यालयहरूको सहयोगमा दुई दिनमै प्रत्येक वडामा क्वारेन्टाइन निर्माण गरिएको प्रमुख रानाले बताउनुभयो ।
प्रत्येक वडाहरूमा तयार पारिएको क्वारेन्टाइनमा कोरोनाको लक्षण देखिएका एवम् विदेशबाट आएका व्यक्तिलाई राखिने मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा ५ शैय्याको आइशोलेसन वार्ड यसअघि नै तयार पारिएको थियो ।
कावासोती ६ मा तीन जना क्वारेन्टाइनमा, रकम अभावले भूँइमै विस्तारा
जिल्लाको कावासोती नगरपालिका वडा नम्वर ६ बिष्णुनगरमा तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
केहि दिनअघि भारतबाट आएका दुईजना र दुबईबाट आएका एक जनालाई जनता मावि बिष्णुनगरमा बनाइएको क्वारेन्टाइनमा राखिएको वडा अध्यक्ष हेमुप्रसाद पाण्डेले जानकारी दिनु भयो ।
तर क्वारेन्टाइनमा बसेका तीन जना भुँइमै विस्तारा लगाएर सुत्न बाध्य भएका छन् । विद्यालयको तेस्रो तल्लामा तीन जना भूँईमै विस्तारा लगाएर बसेका हुन् ।
बजेट अभावले बेडको व्यवस्था गर्न नसकिए पनि सुरक्षाका सम्पूर्ण पूर्वाधार तयार पारि क्वारेन्टाइन निर्माण गरिएको वडा अध्यक्ष पाण्डेले बताउनुभयो ।
आपतकालिन अवस्थामा क्वारेन्टाइन निर्माण गर्नु परेकाले पर्याप्त सामाग्रीको व्यवस्थापन गर्न नसकिएको उहाँको भनाइ छ । बजेटको जोह गरि बेड लगायतका थप सुविधाहरू व्यवस्थापन गर्ने वडाले जानकारी दिएको छ ।
कावासोती ६ मा भारत वा तेस्रो मुलुकबाट आएका व्यक्तिहरूको पहिचान गरि क्वारेन्टाइनमा राखिने कोरोना रोकथाम समिमितिले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६, १५:३२