काठमाडौँ । कोभिड १९ विरुद्व लड्न प्रदेश २ सरकारले २५ करोड रुपैयाँको कोष स्थापना गरेको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले २५ करोड रुपैयाँको राहत कोष बनाउने निर्णय गरेको हो ।
प्रदेश सरकारको तर्फबाट स्थापना गरिएको कोषमा सम्पूर्ण मन्त्रीहरुले आफ्नो एक महिनाको तलब समेत दिने भएका सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।
प्रदेश सरकारले राहत कोषमा सहयोग गर्न समाजिक सङ्घसंस्था, प्रदेशका व्यापारिक घराना एवं इच्छुक व्यक्तिहरुलाई आह्वान गरेको छ ।
बैठकले महामारी नियन्त्रणको लागि मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा सबै मन्त्री रहने गरी उच्च स्तरीय निर्देशन समिति गठन गरेको छ ।
आवश्यक व्यवस्थापन गर्न निमित्त प्रमुख सचिव नारायण दवाडीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी विशेष कार्यकारी समिति समेत गठन गरिएको मन्त्री यादवले बताउनुभयो ।
प्रादेशिक अस्पताल जनकपुर, वीरगञ्ज र राजविराजमा कोरोनासम्बन्धी जाँच गर्ने ल्याबको स्थापना गर्ने निर्णय पनि सरकारले गरेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६, १८:०२