काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही असहज महसुस गरेपछि गएराति अस्पताल भर्ना हुनुभएको छ । मुटुको धडकन केही बढेपछि गएराति ११ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीलाई भर्ना गरिएको हो ।
सीआईएनलाई नेकपा उच्च स्रोतले दिएको जानकारी अनुसार औषधि सेवनपछि प्रधानमन्त्री ओलीको अवस्था अहिले सामान्य रहेको छ र चिकित्सकको जाँच तथा सुझावका आधारमा आज साँझसम्ममा ओलीलाई डिस्चार्ज गर्ने तयारी भएको छ ।
उक्त स्रोतका अनुसार ओलीमा कामको धपेडीका कारण मुटुको धडकन बढेको चिकित्सकले बताएका छन् ।
नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले कामको धपेडीका कारण उहाँमा केही सामान्य समस्या देखिए पनि अहिले अवस्था सामान्य रहेको सीआईएनसँग बताउनुभयो ।
फलोअपका लागि प्रधानमन्त्री अस्पताल जाने बारेमा हिजो बालुवाटारमा छलफल भएको तर मुटुको धडकन केही बढेपछि राति नै उहाँ अस्पताल भर्ना भएको उहाँको भनाइ छ ।
कोभिड १९ को सम्भावित जोखिम कम गर्ने बारेमा प्रधानमन्त्री आफैँ सक्रिय नभए पनि उहाँले नजिकबाट अवलोकन गरिरहेको र केही मन्त्रीका पछिल्ला अभिव्यक्तिका कारण चिकित्सकहरु विचलित हुनसक्ने भन्दै प्रधानमन्त्री चिन्तित हुनुभएको थियो ।
बालुवाटार स्रोतका अनुसार हिजो प्रधानमन्त्री ओलीले स्वाथ्यकर्मीको सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने भनी दिएको अभिव्यक्ति त्यसैलाई ढाडस दिने गरी आएको थियो ।
ओलीको गत फागुन ३० गते शिक्षण अस्पतालमै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो र उहाँ ११ दिनमा बालुवाटार फर्किनुभएको थियो । प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्दा उपचारमा संलग्न चिकित्सकले सङ्क्रमणको जोखिममा रहेको भन्दै सावधानी अपनाउन सुझाव दिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६, ०८:५४