काठमाडौँ । सरकारले कोरोना भाइरस फैलिन नदिन सबै नागरिकलाई होम क्वारेन्टाइन अर्थात् एकान्तबासमा बसिदिन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरी होम क्वारेन्टाइनका लागि निर्देशिका बनाएको जानकारी दिँदै यस्तो आग्रह गरेको हो । सरकाले कोरना सङ्क्रमित राष्ट्रबाट आएको व्यक्तिलाई यत्रतत्र नघुम्न आग्रह गर्दै सरकारले एकान्तबासमा बस्न आग्रह गरेको स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाले आग्रह गर्नुभयो ।
मन्त्रालयका अनुसार हिजोसम्ममा सात सयभन्दा बढीको कोरोना परीक्षण गरिएकोमा तीनजना बाहेक अरुमा कोरोना देखिएको छैन । सरकारले मुलुकका तीन ठूला सहरका अस्पतालमार्फत कोरोनाभाइरसको परीक्षण सुरु गर्ने भएको छ ।
प्रदेश १ को धरान, गण्डकी प्रदेशको पोखरा र प्रदेश पाँचको नेपालगञ्जमा कोभिड–१९ को परीक्षण गर्न लागिएको हो । त्यसका लागि प्राविधिक टोलीसमेत पठाईएको मन्त्रालले जनाएको छ ।
सरकारले मुलुकभरका हब अस्पतालका लागि छुट्टै फिवर क्लिनिक सञ्चालन गर्न प्रति अस्पताल १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
ज्वरो आउने, रुघा लाग्ने जस्ता लक्षण देखिएर कोरोनाको आशङ्कामा जाँचका लागि आएका विरामीलाई राख्नका लागि छुट्टै फिवर क्लिनिक सञ्चालन गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्दै सरकारले त्यसका लागि प्रति अस्पताल १० लाख रुपैयाँ उपलब्ध गराएको हो ।
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६, ११:५२