काठमाडौँ । सरकारले सबै पालिकालाई विदेशबाट आएका व्यक्तिलाई आफ्नो क्षेत्रका क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ ।
साथै क्वारेन्टाइनमा बसेका व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिएमा तत्काल आईसोलेसनमा राख्ने तथा आईसोलेसनमा राखिएकाको स्वास्थ्य गम्भीर बन्न थाल्यो भने स्वाव परीक्षण गर्न पठाउन पनि निर्देशन दिएको छ ।
क्वारेन्टाईन र आइसोलेसनमा राख्ने तथा त्यसको सम्पूर्ण रिपोर्ट केन्द्र सरकारलाई उपलब्ध गराउने सम्बन्धमा स्पष्ट निर्देशिका बनाएर प्रदेश र स्थानीय सरकारलाई पठाइएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव बसन्त अधिकारीले सीआइएनलाईसँग बताउनुभयो ।
विदेशबाट आउँदैमा डराइहाल्नुपर्ने अवस्था नभएको भन्दै उहाँले सेल्फ क्वारेन्टाइनमा बस्न र कोरोना भाइरसको सङ्क्रमण देखिए तत्काल तोकिएको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न पनि आग्रह गर्नुभयो ।
यसैबीच स्वास्थ्य सामग्री किनबेच गर्ने व्यवसायीको सङ्गठन रसायन तथा मेडिकल आपूर्ति सङ्घ नेपालले देशभरका हरेक अस्पताल र स्वास्थ्य संस्थाहरूमा चौबीसै घण्टा आवश्यक स्वास्थ्य सामग्री आपूर्ति गर्न र सङ्घमा आवद्ध व्यवसायी र कर्मचारीलाई अपिल गरेको छ ।
साथै सङ्घले आवश्यकता अनुसार मर्मत संभारको कार्य गर्ने व्यवस्था मिलाउन पनि भनेको छ । कोभिड–१९ भाइरसको समस्यासँग जुध्न आफ्नो सामथ्र्यले भ्याएसम्म हरेक स्वास्थ्य संस्थामा सामग्री आपूर्तिको व्यवस्था मिलाउन सम्पूर्ण व्यवसायीलाई सङ्घका अध्यक्ष सुरेश घिमिरेले सीआइएनमार्फत अपिल गर्नुभयो ।
सेवा प्रदान गर्दा आवश्यक दुरी कायम गर्न र सुरक्षाका उपाय अवलम्बन गर्न पनि सङ्घले अनुरोध गरेको छ ।
लकडाउनको अवधि अर्थात चैत महिनाको विद्युत महशुलमा भने २० प्रतिशत छुट मिल्ने भएको छ । यसअघि इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई दिने भनिएको छुट अब नेपाल विद्युत प्राधिकरणका सबै ३६ लाख ५० हजार ग्राहकले पाउनेछन् ।
ऊर्जामन्त्री वर्षमान पुनले आज प्राधिकरणको बोर्ड बैठक बसेर सबै ग्राहकलाई २० प्रतिशत महशुल छुट दिने निर्णय हुने सीआईएनसँग बताउनुभयो । यसो गर्दा करीव एक अर्ब रुपैयाँ राज्यको तर्फबाट जनताले छुट पाउने मन्त्री पुनले जानकारी दिनुभयो ।
ऊर्जामन्त्री पुनले यो महिनाको विद्युत महशुल बुझाउन ढिला भए पनि जरिवाना नलाग्ने प्रष्ट पार्नुभयो । मन्त्री पुनले विद्युत महशुल छुटमा घरबेटी र डेरावाल सबै बराबरी हकदार हुने भन्दै कुनै घरधनीले डेरामा बस्नेसँग पहिलेकै दरमा महशुल उठाएमा सरकारले कारवाही गर्ने बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६, १२:०५