काठमाडौँ । सरकारले गरेको लकडाउन उल्लङ्घन गर्ने १ सय ३९ जनालाई आज बिहान काठमाडौँका बिभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले १ सय ३० जना पुरुष र ९ महिला गरी १ सय ३९ जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन पनि आह्वान गरेको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले एउटा व्यक्तिको लापरबाहीले पूरै समाज सङ्क्रमित हुनसक्ने भएकाले कडाइका साथ आफूहरू प्रस्तुत भएको जानकारी दिनुभयो ।
कोभिड १९ को सम्भावित जोखिम कम गर्न सरकारले घोषणा गरेको लकडाउन पूर्ण रूपमा कार्यान्वयनमा नआएको भन्दै प्रहरीले जाँचमा कडाइ गरेको हो ।
लकडाउन घोषणा भएको पाँचौँ दिन आज पनि अत्यावश्यकबाहेकका मानिसको आवतजावत भित्री तथा मुख्य सडकमा समेत नरोकिएपछि प्रहरीले कडाइ गर्ने नीति लिएको हो ।
गत मङ्गलबारदेखि एक हप्ताका लागि लकडाउनको घोषणा गरे पनि प्रहरीले सुरुवाती दिनमा सडकमा निस्कनेहरूलाई सम्झाइबुझाई गर्ने गरेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले लकडाउन अवज्ञा गर्नेविरुद्ध कडा कारबाही सुरु गरेको सीआईएनलाई जानकारी दिनुभयो ।
विशेष टोली नै परिचालन गरी मुख्य सडक तथा भित्री गल्लीमा समेत निस्केकालाई तत्काल पक्राउ गर्न आदेश दिइएको उहाँले बताउनुभयो ।
परिसरमातहतका १४ वटै वृत्तको टोली परिचालन गरिएको र हेटक्वार्टरबाटसमेत थप मद्दत मागिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६, ०९:१४