- अभियानमा संघीय सरकारका मन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, सांसदसहित सबै क्षेत्रका व्यक्तिले प्रतिवद्धता जनाउने छन ।
काठमाडौं । बाल विवाह बिरुद्ध १५ हजारले साझा प्रतिवद्धता जनाउने भएका छन । आजबाट सुरु भएको बाल विवाह विरुद्धको सञ्चार अभियानमा देशभरीका ७७ जिल्लाका १५ हजार व्यक्तिले प्रतिवद्धता जनाउने छन । देशभरिका सामुदायिक रेडियोको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क (सीआइएन) र वल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्यमा बालबिवाह विरुद्ध १५ हजार व्यक्तिको प्रतिवद्धता संकलन गर्ने लगायतको सञ्चार अभियान आजबाट सुरु भएको हो । अभियान ४ महिनासम्म चल्नेछ ।
अभियानमा संघीय सरकारका मन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, सांसदसहित सबै क्षेत्रका व्यक्तिले प्रतिवद्धता जनाउने छन । देशभरि रहेका सामुदायिक रेडियोमार्फत तल्लो तहका नागरिकहरुको आवाज संकलन गर्ने र सीआईएन मार्फत नीतिगत तहमा सरोकारवालाको प्रतिवद्धता लिइने सीआईएनका मेनेजर दीपक आचार्यले जानकारि दिनुभयो ।
अभियानकै क्रममा बालविवाह बढी हुने क्षेत्रमा पुगेर खुल्ला छलफल समेत गरिनेछ । वाल विवाहबिरुद्धको प्रतिबद्धता व्यक्त गर्न, विचार राख्न र सृजनाहरु प्रस्तुत गर्नको लागि सीआईएनको स्टुडियो सधै खुल्ला रहने र टेलिफोन मार्फत रेकर्ड गराउने व्यवस्था मिलाईएको छ ।
४ महिनाभित्र १५ हजार व्यक्तिको प्रतिवद्धता संकलन गरि प्रसारण गर्ने, रेडियो कार्यक्रमहरु सञ्चालन गर्ने, बाल विवाह बिरुद्धको जनचेतनामुलक सन्देश, बाल विवाह बिरुद्धको गीतहरु प्रसारण गर्ने र जिल्ला जिल्लामा सार्वजनिक ठाउमा अभियानात्मक कार्यक्रम गर्ने आचार्यले बताउनुभयो । वाल विवाह अन्त्यका लागि स्थानीय तहका पदाधिकारीदेखी गाँउ गाँउ टोल टोलसम्म पुगेर प्रतिवद्धता तथा बिचारहरु संकलन गरि प्रसारण गर्ने र त्यस भन्दा पछि थप नयाँ कार्यक्रमहरु ल्याउने सामुदायिक रेडियो प्रसारक संघले तयारी गरेको छ ।
अभियानका क्रममा सीआईएन र सामुदायिक रेडियोले ठाउँ ठाउँबाट प्रत्यक्ष प्रसारण, स्टुडियोमा छलफल तथा विचार र प्रतिवद्धतालाई प्रसारण गर्नेछन् । वाल विवाह विरुद्धको सन्देशलाई रेडियो लगायतका सञ्चार माध्यममार्फत फैलाउदा बढी प्रभावकारी हुने भएकाले अभियानमा साथ दिन सबै सञ्चार माध्यमलाई सहयोग गर्न आग्रह गरिएको छ ।
अभियानमा बालविवाह सम्बन्धी विचार र प्रतिवद्धता सीआईएनको स्टुडियोमै पुगेर पनि जो सुकैले आफ्नै आवाजमा राख्न सक्ने तथा टेलिफोनबाट रेकर्ड गराउन सक्ने व्यवस्था गरिएको छ । २०६८ को जनगणना अनुसार विवाहित जनसंख्याको तथ्याङ्कले १० देखि १९ वर्ष भित्र विवाह गर्नेको संख्या ४८.९५ प्रतिसत थियो । अहिले कानुनले २० वर्ष अघिको विवाहलाई गैरकानुनी भनेको अवस्थामा यो संख्यामा उल्लेखनिय कमि आउन नसकेकोले यस्ता सञ्चार अभियानको आवस्यकता रहेको वल्ड भिजन इन्टरनेशनल नेपालका पैरवी वकालत निर्देशक पुष्कर खातीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५, १८:२४