काठमाडौं । अमेरिकामा कोरोना प्रभावितका लागि अहिलेसम्मकै ठूलो राहात कार्यक्रम घोषणा भएको छ । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले देशको अहिलेसम्मकै ठूलो २० खर्ब डलर बराबरको आर्थिक प्याकेजमा हस्ताक्षर गर्नु भएको छ ।
त्यससम्बन्धी कानुन तल्लो सदनले पारित गरेको छ। यसअघि त्यसका व्यवस्थाबारे माथिल्लो सदन सिनेटमा छलफल भएको थियो। अहिलेसम्मकै सबैभन्दा धेरै ३३ लाख अमेरिकी बेरोजगारका रूपमा बुधवार दर्ता भएका थिए। राहात प्याकेज उनीहरुका लागि खर्च गरिनेछ ।
महामारीका कारण व्यक्तिको जीवन निर्वाह र कम्पनीहरूको व्यवसाय प्रभावित भएको छ भने सीधा आर्थिक सहयोग गर्न सकिने व्यवस्था कानूनमा गरिएको छ।
प्रति वर्ष ७५,००० अमेरिकी डलर भन्दा कम कमाउनेहरूलाई १२०० अमेरिकी डलर दिने र प्रति बच्चा ५०० अमेरिकी डलर दिने व्यवस्था गरिएको छ।
अमेरिकामा विश्वमै सबैभन्दा धेरै एक लाखभन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ।
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६, १३:०४