साढे चार बर्ष पहिले रोजगारीका लागि युएईको दुबईमा गएको थिएँ । काम राम्रोसँग नै चलिरहेको थियो । चैत्रमा कम्पनीले एक महिनाको विदा दिएपछि घर फर्किने सोच बनाए । तर नेपालले चैत १ गते देखि नै खाडी मुलुक हुँदै नेपाल आउने सबै उडान बन्द गरेका कारण घर आउन नपाउने हो कि भन्ने चिन्ता पनि थियो ।
तर, विराटनगरका एक जना साथीले भारत भएर जान सकिने बताएपछी साथी र म युएईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौ आउने योजना बनायौ । ७ गते फ्लाई ईमरेटसबाट दुबईबाट दिल्ली पुग्यौ। सो अवधिमा दिल्लीबाट काठमाडौँ उडान भने नियमित नै थियो ।
तर हामिले काठमाडौ आउनका लागि दिल्लीमा ६ घण्टा पर्खिनु पर्ने भयो र हामी दिल्लीको विमानस्थलबाट कतै बाहिर ननिस्की बिमानस्थलमा नै बस्यौ ।
६ घण्टापछि एयर एशियाको जहाजबाट दिल्लीबाट काठमाडौँका लागि उड्यौ। त्यो दिन धनगढी जान सम्भव नभएपछि म काठमाडौंमा रहेको मामाको घर बसे भने साथी पनि आफन्तकोमा गयो । अर्को दिन चैत्र ८ गते काठमाडौबाट धनगढी जाने टिकट नपाएपछि नेपालगन्ज भएर धनगढी घर जाने निधो गरे ।
दिउँसो १२ बजेको बुद्ध एयरको विमान मार्फत नेपालगञ्ज आएँ। र सोही दिन नेपालगञ्जबाट महेन्द्रनगरको सार्वजनिक बसमा चढे र अत्तीरया झरे । अनि अत्तरियाबाट म्याजिक चढेर धनगढी चौराहा पुगे। र त्यहाँबाट अटोमा घर पुगे ।
दुई दिन साथीभाईसंग भेटघाट भयो । यद्दपि मलाई बिसञ्चो वा संक्रमणको आशंका नभएपनि मैले बाहिर निस्किदा र साथीभाई भेट्दा मास्क कहिल्यै खोलिन । साथी भाई घरपरिवार र छरछिमेकसंग भेट्दा पनि मैले आफ्नो तर्फबाट पुरै सावधानी अपनाएको थियो ।
११ गते स्वास्थ्यमा सामान्य समस्या देखिएपछि म आफै सेती प्रादेशिक अस्पताल धनगढीमा पुगे जहाँ मलाई डाक्टरहरुले आईसोलेसनमा बस्न सुझाए। र मेरो थ्रोट स्वाव लिएर काठमाडौ पठाए । आईसोलेसनमा बसेको चौथो दिन कोरोना भाईरस पोजेटिभ भएको सुनाउदा म आफैँ अचम्मित भए।
अहिले मलाई अस्पतालको छुट्टै कोठामा राखिएको छ। हिजोको रिपोर्ट पछि अहिले सम्म कुनै पनि स्वास्थ्यकर्मी मलाई भेट्न आउनु भएको छैन्। मैले तातो पानी समेत पिउन नपाएपछि अहिले घरबाट पानी तताउने भाडो पठाइदिनु भएको छ । म सञ्चो हुन्छ भन्ने कुरामा ढुक्क छु । अहिले मेरो अवस्था सामान्य नै छ ।
रेडियो पश्चिमटुडेसँगको कुराकानीमा आधारित
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६, १५:०४