काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण रोक्न र उपचार गर्न चीनबाट पठाइएको आवश्यक स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको छ ।
आवश्यक स्वास्थ्य सामग्री चीनबाट लिएर नेपाल एयरलाइन्सको हवाईजहाज आज बिहान काठमाडौँ आइपुगेको हो ।
हिजो मध्यान्ह् चीन गएको जहाज आज बिहान साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरूले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक (पीपीई) लगायतका सामग्री लिएर वाइडबडी जहाज काठमाडौँ आएको हो ।
यी सामग्रीलाई आजैदेखि प्रदेश तथा स्थानीय तहसम्म पुर्याउन सुरु गरिने पर्यटनमन्त्री योगेश भट्टराईले सीआईएनसँग बताउनुभयो ।
यसैबीच चीनको एक व्यापारिक कम्पनीले ‘अनुदान’मा दिएका करिब दुई हजार थान कोरोना जाँच किटसहितका सहायता सामग्री निर्यात योग्य नरहेको भन्दै तिब्बत सरकारले नेपाल पठाउन रोकेको छ ।
बेइजिङबाट पठाइएको चार दिनपछि हिजो ल्हासा पुगेका सामग्री चीनको स्वास्थ्य विभागले जाँच गर्दा निर्यात गर्ने सूचीमा नरहेको भन्दै तिब्बतस्थित विदेश विभागको कार्यालयले रोकेको जानकारी प्राप्त भएको ल्हास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६, ०८:५४