काठमाडौं । तपाई सामान्य ज्वरो आयो ? खोकी पनि लागि रहेको छ ? कतै कोरोना भयो की भनेर शंका लागेको हुनसक्छ । त्यसको प्रारम्भिक जाँच गर्न अब अस्पताल जानु नपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालययले घरमै बसेर लक्षणका आधारमा आफूलाई कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण भएको नभएको अनुमान गर्न सकिने एप्लिकेशनको विकास गरेको छ ।
मन्त्रालयले कोरोना भाइरसको लक्षण देखिने वित्तिकै स्वास्थ्य संस्था जाँदा सङ्क्रमणको जोेखिम अझ धेरै बढ्ने भएकाले घरमै बसेर आफूलाई कोरोनाको संक्रमण भए नभएको थाहा पाउने एप्लिकेशन तयार पारेको हो । आइतबारदेखि स्वास्थ्य मन्त्रालयले कोरोना पहिचानको लागि http://covid19.mohp.gov.np मोबाइल एप संचालनमा ल्याएको हो। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित व्यक्तिको पहिचान र उसको उपचारको व्यवस्था मिलाउन मोबाइल एप संचालनमा ल्याएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.बिकास देबकोटाले यसले नागरिकलाई आफूलाई संक्रमण भए नभएको बारेमा थाहा पाउन सजिलो हुने बताउनुभयो ।
उपत्यका बाहिर पनि कोरोना सङ्क्रमित भेटिएकाले यसको सङ्क्रमण मुलुकको जुनसुकै भागमा देखिनसक्ने भन्दै संक्रमितको पहिचानका लागि एप्लिकेशन तयार पारिएको मन्त्रालयले जनाएको छ । एप्लिकेशनको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज उद्घाटन गर्नुभएको हो ।
सेनाको छुट्टै एप
नेपाली सेनाले पनि छुट्टै एप्लिकेशन बनाएको छ । नेपालमा पनि संक्रमण देखिएको र भविष्यमा महामारीका रुपमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सेनाले रोगको रोकथाम, प्रतिकार र नियन्त्रण गर्ने कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने “COVID- 19 Response App – Nepal” नामक एप सञ्चालनमा ल्याएको छ ।
त्यस एपबाट सर्वसाधारणले आफ्नो परिवार, छर छिमेक तथा साथीभाईमा कोभिड–१९ कुनै पनि लक्षण देखिएमा उक्त विवरण पठाउन मिल्ने व्यवस्था गरिएको छ ।
एपमार्फत प्राप्त हुने डाटाहरुलाई नेपाली सेनाले आवश्यक ब्यवस्थापन, बिश्लेषण तथा बिरामीसँगको पहुँच स्थापना गर्न प्रयोगमा ल्याउने सेनाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६, १४:५९