सिमरा/बारा ।
लकडाउनका समयमा लमजुङबाट जीप रिजर्भ गरि सप्तरीस्थित घर हिंडेका कामदार सवार जीप बारामा दुर्घटना भएपछी उनीहरु अस्पतालमा अलपत्र परेका छन् ।
निर्माणधिन मध्यपहाडी लोकमार्गको काम ‘लकडाउन’ले प्रभावित बनेपछी त्यहाँ कार्यरत सप्तरीको राजविराजका ११ कामदारलाई ठेकेदार कम्पनीले जीप रिजर्भ गरी घर पठाएको थियो ।
प्रशासनको अनुमतिमा लमजुङबाट ११ कामदार बोकर छुटेको ग ३ च ३८८ नम्बरको बोलेरो जीप आईतबार बाराको आधाभार क्षेत्रमा दुर्घटना भएको होे ।
दुर्घटनामा घाईते भएका सबैको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भएपछि उपचारका क्रममा लागेको खर्च तिर्न नसक्दा उनीहरु अस्पतालमै अलपत्र परेका हुन् ।
उपचार खर्च तिर्ने पैसा आफूहरुसँग नभएका कारण उपचारपछी पनि घर जान नपाएको राजविराज, हनुमान नगरका ओम प्रकाश रायले बताउनुभयो ।
अस्पतालमा रहेको करिब ७० हजार रुपैयाँ उपचार खर्च चुक्ता गरिदिन सवारी धनीलाई सम्पर्क गरी आग्रह गरेको भएपनि लकडाउनको कारण देखाउँदै तत्काल सम्भव नहुने जवाफ पाएको उहाँले बताउनुभयो ।
अस्पतालमै रहँदा खाने खर्च समेत आफूहरुसँग नभएको उहाँले गुनासो गर्नुभयो । साथीहरुसँग भएको केहि पैसाले बिहान चिउरा र चाउचाउ खाएर बसेको भएपनि साँझका लागि बिकल्प नभएको रायको भनाइ छ ।
यसैबीच, यस विषयमा सीआईएनले जानकारी गराएपछि बाराको जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डाक्टर कृष्णप्रसाद पौडेलले उनीहरुलाई घर पठाउन उपमहानगरले पहल गर्ने बताउनुभएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले यस विषयमा आफूलाई कुनैपनि जानकारी नआएको भन्दै बुझेर मात्रै थप भन्न सकिने बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६, ११:५९