बारा । बाराको फेटा गाउँपालिका चन्दनकुमार रामको एक वर्षअघि विनाशकारी टोर्नाडो हुरीले घर उजाड भयो । उहाँको मात्रै होइन झण्डै हजार मान्छे घरवारविहीन भए । ८ सय ६९ परिवारले घर पाए । बाँकी परिवार अझै घरवाहिरै छन् । चिसो टहरामै गयो, गर्मी आउँदैछ ।
कोरोनाको सम्भावित जोखिमले यो बेला घरभित्रै सुरक्षित बस्नुपर्ने भए पनि बस्न पाइएको छैन ।
फेटा गाउँपालिककाका अध्यक्ष अमिरिलाल प्रसादका अनुसार करिब एक सय ४५ घरपरिवारको बसाइ कष्टपूर्ण नै छ । नागरिकले बितेको एक वर्ष निकै कष्ठपूर्ण तरिकाले कटाएको गाउँपालिका अध्यक्ष अमिरिलाल प्रसादको भनाइ छ ।
सरकारले लगत सङ्कलनका क्रममा पूर्ण र आङ्शिक क्षति भएका गरी दुई वर्गमा बाँडेर नयाँ घर निर्माण गरिदिएको थियो । तर कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले भने पूर्ण क्षति भएकाहरुले घर नपाएको गुनासो नआएको दावी गर्नुहुन्छ ।
हुरीबाट अति प्रभावित प्रसौनी गाउँपालिकामा पनि वास्तविक पीडित छुटाएको भन्दै त्यसताका निकै गुनासो आएको थियो । तर केन्द्र र प्रदेश सरकारले सोधखोज नगर्दा अहिले त्यो समस्या नै अलपत्र परेको प्रसौनी गाउँपालिका अध्यक्ष भोलाप्रसाद गुप्ताले बताउनुभयो ।
केही स्थानमा विभिन्न विवादका कारण घर निर्माण हुन नसके पनि अधिकांश स्थानीय तहका वास्तविक पीडित घर पाउनबाट वञ्चित नभएको जनप्रतिनिधिहरूको दावी छ । प्रभावितहरूले भने घर नपाएको गुनासो गरिरहेकै छन् ।
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६, ०७:०४