काठमाडौँ ।
अब उपत्यकाबाहिर सातै प्रदेशमा कोरोना भाइरस (कोविड १९) को नमुना परीक्षणको काम हुने भएको छ । मंगलबार परीक्षणको लागि मेसिन पुगेपछि अब सातवटै प्रदेशमा नमुना परीक्षण सुरु भएको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार बाटै परीक्षण सुरु भएको हो । अहिले धरानमा दैनिक १२ जनाको स्वाव परीक्षण भइरहेको प्रतिष्ठानका कार्यवहाक उपकुलपति गुरु खनालले जानकारी दिनुभयो ।
हालसम्म परीक्षण भएका सबै नमुनाको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो । धरानमा थप नमुना परीक्षण गर्ने तयारी भइरहेको छ ।
यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले मंगलबारबाट स्वाव परीक्षण सेवा शुरु गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म तीन वटा परीक्षण गरिएकोमा दुई जनाको संक्रमण नदेखिएको र अर्को एक जनाको भने रिर्पोट आउन बाँकी रहेको छ ।
प्रदेश नं. २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत, प्रदेश नं. ५ को वुटवल र बागमती प्रदेशको हेडौडाबाट पनि बिहीबार अर्थात् आजबाट नमुना परीक्षणको काम सुरु हुन लागेको कोभिड १९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार यी पाँचै स्थानमा नमुना परीक्षणका लागि प्रोटेवल पिसिआर मेसिन सहित सम्पूर्ण सामाग्री पुगिसकेको छ ।
यसअघि नै प्रयोगशाला सञ्चालन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनशक्ति खटाइसकेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६, ०९:२७