काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा कोरोना पोजेटिभ भेटिएको विषयमा खण्डन गरेको छ ।
मन्त्रालयको नियमित ब्रिफिंगको क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पोखरामा कोरोना देखियो भन्ने विषयमा कुनै सत्यता नभएको प्रष्ट पार्नुभयो ।
यस्तै, नेपालमा हालसम्म १२ सय ७७ जनाको कोरोनाको परीक्षण गरिएकोमा ६ जनामा मात्रै पुष्टि भएको जसमा एक जना स्वस्थ भएर घर फर्किसकेको उहाँले जानकारी गराउनुभयो ।
हाल नेपालमा १ सय २० जना आइसोलनमा रहेको जानकारी दिँदै उहाँले कन्ट्र्याक्ट ट्रेसिंगको काम पनि भइरहेको बताउनुभयो ।
जसमा १ सय ७ जना 'रेड जोन'मा रहेका र उनीहरुको कोरोना परीक्षण गरिने पनि देवकोटाले बताउनुभयो । रेड जोनमा भएकाहरुको विषयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काम गर्नेछ ।
भक्तपुरस्थित खरिपाटीमा रहेको क्वारेन्टाइनमा रहेका सबै ५६ जनाको नमूना संकलन भएको देवकोटाले जानकारी दिनु भएको छ ।
कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका ९२ जनाको नमूना संकलन गरिएको र नतिजा आउन बाँकी रहेको पनि मन्त्रालयले जानकारी गराएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६, १७:०६