निर्मल पौडेल,रेडियो कुशुम, पर्वत
पर्वतको कुश्मा नगरपालिकाले ५० लाख बराबरको राहत कोषको स्थापना गरेको छ ।
विश्वभरी महामारीको रुपमा फैलिरहेको नोबेल कोराना भाइरस (कोभिड १९) को जोखिम नियन्त्रण तथा राहत वितरण गर्न उक्त कोषको स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।
जसमा नगरपालिकाले १५ लाख, कार्यरत कर्मचारीहरुबाट २ लाख, जनप्रतिनिधीबाट ३ लाख, विभिन्न संघ संस्था मार्फत् १० लाख, प्रदेश सरकारबाट १० लाख र अन्य विभिन्न निकायहरु मार्फत रकम उठाउने अपेक्षासहित कोषको स्थापना गरिएको नगरपालिकाको भनाइ छ ।
कोषको रकम राहत सामाग्री खरिद, कोरोना अस्पताल व्यवस्थापन तथा मेडिकल सामाग्रीहरु खरिद लगायतमा खर्च गरिने नगरले जानकारी दिएको छ ।
नगरपालिकाले विभिन्न निकायहरुसँग सहयोगको अपेक्षा राखेको कुश्मा नगरपालिका ११ का अध्यक्ष शिव शर्मा पौडेलले बताउनुभयो ।
नगरपालिकाले राहत वितरण नगर समन्वय समिती समेत गठन गरी खाद्य सामाग्री बैँकको स्थापना गरेको छ ।
नगरपालिकाका अनुसार उक्त रकम लकडाउनको बेलामा कोरोनाले निम्त्याएका पीडित, विपन्न परिवार तथा ज्याला मजदुरी गरी जीवन गुजारा चलाउने, साँझबिहान हातमुख जोड्न धौ धौ हुने निम्न वर्गका लागि खर्च गरिनुका साथै आपतकालिन अवस्थाका लागि खर्च गरिने छ ।
नगरपालिकाले कुश्मा नगर शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा खाद्यान्न सामाग्री संकलन तथा राहत वितरण गर्ने समिती निर्माण गरेको छ ।
समितीले विभिन्न संघसंस्थाहरु मार्फत आउने खाद्यान्न तथा राहत नेपाल सरकारको मापदण्ड बमोजिम एकद्धार प्रणालीबाट वितरण गर्ने क्षेत्रीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६, १८:४९