देवचन्द्र भट्ट, रेडियो भैरबी, नुवाकोट
नुवाकोटमा कोरोनाको लक्षण देखिएर आइसोलेसनमा राखिएका दोश्रो युवको रिपोर्ट नेगेटिभ आएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिँदै गइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेका बेला नेपालमा पनि ६ जनामा संक्रमणको पुष्टि भइसकेको छ ।
युवकको रिपोर्ट नेगेटिभ आएसँगै उनका परिवार र नुवाकोटबासी खुशी भएका छन् ।
युवकलाई त्रिशूली अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । केहि दिनमा उनलाई डिस्चार्ज गरिने तयारी भइरहेको अस्पतालले जनाएको छ ।
लक्षण मिलेका कारण कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंकामा नुवाकोटको दक्षिणी भेगमा रहेको तारकेश्वरका एक युवकलाई तीन दिनदेखि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीको आइसोलेसनमा राखेर उपचार गरि स्वाव परिक्षणका लागि काठमाडौ पठाइएको थियो ।
उनको परिक्षणका लागि स्वाव लिएर नमुना काठमाडौको टेकु पठाइएकोमा शुक्रबार अर्थात् आज रिपोर्टमा कोरोना नेगेटिभ आएको अस्पतालका प्रमुख डा. रेमकुमार राइले बताउनुभयो ।
ति युवक भारतको मुम्वइबाट यहि चैत्र ८ गते घर आईपुगेका थिए । उनमा निरन्तर खोकी, ज्वरो आउने लक्षण देखिएपछि कोरोना संक्रमणको आशंकामा आईसोलेसनकोमा राखेर उपचार भइरहेको डा. राजेन्द्र लामाले जानकारी दिनुभयो ।
कोभिड–१९ को संक्रमणको आशंकामा आइसोलेसनमा राखेर उपचार गरिएका नुवाकोट विदुरका एक युवकको स्वाव परीक्षण गर्दा कोरोना नभएको पुष्टि भएको एकदिन नबित्दै नुवाकोटमा अर्का युवकलाई आइसोलेसनमा राखेर उपचार सुरु गर्नु परेको थियो ।
कोरोना आशंकामा जिल्लाबाट नमूना सङ्कलन गरी परीक्षण गर्न टेकु पठाइएको यो दोश्रो घटना हो ।
दुईसय ७९ होम क्वारेन्टाइनमा, १७ जना सरकारीमा
कोभिड–१९ को संक्रमणलाई रोक्न नुवाकोटका दुई सय ७९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । १७ जनालाई सरकारी क्वारेन्टाइमा राखिएको छ ।
हालसम्म नुवाकोटमा विदेशबाट फर्किएकाहरुलाई मात्रै क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अविनारायण काफ्लेका अनुसार सरकारी क्वारेन्टानइनमा एक महिलासहित १७ जनालाई राखिएको छ ।
नुवाकोटमा विदेशवाट आएका चारसय २४ जना पहिचान भइसकेका छन् । उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट फर्किनेमा सबैभन्दा बढी विदुर नगरपालिका भित्रका रहेका छन् ।
हाल नुवाकोटको १२ वटै स्थानीय तहका वडा कार्यालयले विदेशबाट आएकाहरुको लगत लिने र स्वास्थ्य परीक्षण गराउने काम गरिरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६, १९:२४