कपिलवस्तु ।
कपिलवस्तुको बिजयनगरको एक गाउँ आगलागीले सखाप भएको छ । आगलागीका कारण गाउँमा रहेका ४९ घरगोठ जलेर नष्ट भएको हो ।
२५ वटा घर र २४ वटा गोठ जलेको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले बताउनुभयो ।
सदरमुकाम तौलिहवाबाट करिव ५० किलोमिटरको दुरीमा रहेको बिजनगर गाउँपालिका १ गुगौलीमा दमकल नपुग्दै गाउँ सखाप भएको हो ।
दिउँसो करिव ४ बजे लागेको आगो २ घण्टा पछि प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए । कृष्णनगर नगरपालिकाको दमकल बिग्रेकोले तौलिहवाबाट दकमल बोलाइएको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताउनुभयो ।
स्थानीय काशिराम यादवको घरबाट सुरु भएको आगोले छिमेकमा रहेका फुसका घर तथा गोठहरु जलेका छन् । खाद्यान्य सामाग्री, लत्ताकपडा जलेर नष्ट भएको प्रहरी निरिक्षक नेपालले बताउनुभयो ।
दिउँसोको खाजा पकाएपछि आगो ननिभाउँदा आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । आगोबाट कुनै मानविय क्षति भएको छैन् भने गाईबस्तुलाई पनि स्थानीयले सुरक्षित गरेका थिए ।
अग्नी पीडितलाई गाउँपालिकाले राहतको व्यवस्था गर्ने गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो ।
गर्मीयाम सुरु भएसँगै आगलागीका कारण कपिलवस्तुमा हरेक वर्ष ठूलो धनजनको क्षति हुने गरेको छ । हावाहुरीमा स्थानीयले सर्तकता नअपनाउँदा वर्षेनी यस्ता घटना हुने गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६, २०:०२