दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर २ राप्लाको मालमा भारतीय सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटिदिदाँ खसेर स्थानीय जयसिंह धामी वेपत्ता भएको घटनाका बारेमा दार्चुला प्रशासनले चासो व्यक्त गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्लाधिकारीलाई गम्भीर ध्यानाकर्षण भएको भन्दै पत्राचार गरेको छ ।
घटनाबारे छानविन गरी आवश्यक कारबाहीका लागि प्रमुख जिल्ला अधिकारीले भारतको पिथौरागढ जिल्लाका समकक्षी आनन्द स्वरुपलाई पत्राचार गरेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले सीआईएनसँग बताउनुभयो ।
वेपत्ता भएका धामी भने अझैँ भेटिनुभएको छैन ।
ब्याँस गाउँपालिका वडा नम्बर २ मालका स्थानीय वर्ष अन्दाजी ३५ का जयसिंह धामी तुइन तरेर भारततिर जाने बेलामा हिजो भारतीय सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटिदिँदा ताक्लोसहित महाकाली नदीमा खसेको प्रत्यक्षदर्शी बिक्रम रोङकलीले बताउनुभयो ।
धामी तुइन तर्ने बेला प्रत्यक्षदर्शीहरु बिक्रम रोङकली, अनिता धामी र कल्यान सिंह धामी नेपालतिरके भूभागमा हुनुहुन्थ्यो । ओर्लिन एकदुई पाइला मात्रै बाँकी रहँदा त्यहाँ पुगेका दुई जना एसएसबीका जवानले तुइन काटिदिएको प्रत्यक्षदर्शीको भनाइ छ ।
धामी महाकाली नदीमा वेपत्ता भएसँगै दुबै जना एसएसबीका जवान घट्नास्थलबाट भागेको प्रत्यक्षदर्शीको भनाइ छ । कोही खाद्यान्न ल्याउन भारत जाने र कोही सदरमुकाम खलङ्गा आउने कामले तुइन तरेर भारतको बाटो प्रयोग गर्ने गरेका छन् ।
५/६ जना तुइन तरेर भारतितरको भूभागमा पुगिसकेका थिए । धामी महाकाली नदीमा वेपत्ता भएको एकिन भए पनि घट्ना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले बताउनुभयो ।
नेपालतिरको माल र भारतको गस्कु क्षेत्रमा यसअघि नै झोलुङ्गे पुल निर्माणको ठेक्का भई निर्माण कार्य सुरु भए पनि हालसम्म पुल निर्माण हुन नसक्दा तुइनको जोखिमपूणर् यात्रा गर्नुपरेको स्थानीय शिक्षक हरकसिंह कार्कीको गुनासो छ ।
दार्चुलामा तुइनबाट नेपालीलाई खसालिएका बारेमा अध्ययन गर्न समिति गठन
भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइनको डोरी निकालिदिँदा दार्चुलाका स्थानीय जयसिंह धामी वेपत्ता भएको घटनाका बारेमा अनुसन्धान गर्न सरकारले समिति गठन गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा गृह मन्त्रालयका सचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।
मन्त्री खाँणको सचिवालयका अनुसार समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन् ।
प्रकाशित मिति: शनिबार, साउन १६, २०७८, ०९:४४