स्थानीय किसानलाई सिमावर्ती भारतीय सिकटा, भेलाही, मैनाटाड लगायतका बजारमा पुगेर धानको बिउ र रासायनिक मलको जोहो गर्नुपर्ने बाध्यता छ ।
पर्सा । केहि दिनअघि वर्षा भएपछि तराई मधेसका किसान धानको ब्याड राख्ने तयारीमा छन् । तर स्थानीय बजारमा धानको राम्रो बिउ नपाईएकाले भारतिय बजारबाट कमसल बिउ किन्नु परेको किसानहरुको गुनासो छ ।
पर्साको कालिकामाई गाउँपालिकाका अयोध्या चौहानले स्थानीय तहले किसानलाई धानको बिउ उपलब्ध गराउन कुनै सहयोग नगरेको बताउनुभयो । धानको ब्याड राख्ने बेलामा नेपाली बजारमा बिउ र मलको चरम अभाव रहेको पर्साको किसानको गुनासो छ ।
स्थानीय किसानलाई सिमावर्ती भारतीय सिकटा, भेलाही, मैनाटाड लगायतका बजारमा पुगेर धानको बिउ र रासायनिक मलको जोहो गर्नुपर्ने बाध्यता छ । तर सिमा क्षेत्रमा प्रहरीले दुख दिने गरेको किसानहरु बताउँछन् । किसानका समस्याका बारेमा स्थानीय सरकार र प्रशासनलाई जानकारी गराएको भएपनि कुनै सम्बोधन नभएको किसानहरुको गुनासो छ । किसान हकहित संघर्ष समिती पर्साका अध्यक्ष सहारुम राउत गदी आफुहरुको गुनासोको सुनुवाई नभएको बताउनुहन्छ ।
मुलुक संघीय संरचना गएपछि हरेक स्थानीय तहमा कृषि शाखा छ । तर त्यस्ता निकायबाट किसानका लागि प्रभावकारी काम भईरहेको छैन । कालिकामाई गाउँपालिका पर्साका प्रमूख नथुनी प्रसाद कुशवाहा कर्मचारी अभावले काम प्रभावकारी नभएको बताउनुहुन्छ ।
पर्साका किसान जनप्रतिनिधीको जवाफबाट सन्तुष्ट छैनन् । बाली लगाउने समयमा बिउ नपाउँदा पनि स्थानीय सरकार गम्भिर नभएको उनिहरुको गुनासो छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६, ०९:२७