दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिका मालमा तुइन चुँडिएर स्थानीय जयसिंह धामी वेपत्ता भएको घटनाको बारेमा छानबीनका लागि गठित समितिको म्याद १ हप्ता थपिएको छ ।
छानबिन टोलीलाई प्रतिवेदन बुझाउन सात दिन म्याद थपिएको हो । गृम मन्त्रालयले गठन गरेको समितिलाई घटनाको प्रतिवेदन तयार पार्ने म्याद थप गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले जानकारी दिनुभयो ।
गृह मन्त्रालयले माल घटनाको अनुसन्धानका लागि सहसचिव जर्नादन गौतमको नेतृत्वमा साउन १७ गते पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
गौतम नेतृत्वको छानबिन समितिको टोली साउन १९ गते जिल्ला पुगेर प्रत्यक्षदर्शी, जनप्रतिनिधि, राजनीतिक दल, मानवअधिकारकर्मी तथा पत्रकारहरूसँग घटनाबारे जानकारी लिएकोे छ ।
टोलीले घटनास्थलको नेपाल-भारत दुबैतर्फ स्थलगत अवलोकन अध्ययन पनि गरिसकेको छ । १० दिनभित्र घटनाको प्रतिवेदन बुझाउने जिम्मेवारी दिइ टोली जिल्ला पठाएको थियो ।
छानबिन समिति हिजो दार्चुलाबाट फर्किएको छ । छानबीन समितिलाई गृह मन्त्रालयले दिएको १० दिनको म्याद आज सकिएको छ । छानबीन समितिले १० म्याद मागेकोमा गृह मन्त्रालयले ७ दिनको म्याद थप गरेको मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
‘समितिले १० दिनको म्याद मागेको थियो, हामीले सात दिन म्याद थप गरेका छौँ’ प्रवक्ता पोखरेलले भन्नु भयो ।
साउन १५ गते भारतको बाटो भएर खलङ्गा आउने क्रममा तुइन तरिरहेकै बेला भारतीय एसएसबीले तुइन फुकालिदिदाँ ब्याँसका स्थानीय जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको प्रत्यक्षदर्शीको भनाइ छ ।
महाकाली नदीमा वेपत्ता भएको एघारौँ दिन पनि धामी फेला परेका छैनन् । धामी अझैँ फेला नपरेपछि ड्रोन क्यामेराको सहायताले खोज्न प्रहरी प्रधान कार्यालयबाट दुई जना ड्रोन विज्ञको टोली जिल्ला आइपुगेको छ ।
ड्रोन क्यामेरा प्रयोगका लागि भारतीय पक्षको सहमति मागिएको छ ।
यो पनि पढ्नुहोस्ः
दार्चुला तुइन घटनाका बारेमा जानकारी गराउन सभामुख सापकोटाद्वारा रुलिङ
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८, १५:०१